तानसेन । सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकहरुको प्रतिभा पहिचान कार्यक्रम तानसेनमा सम्पन्न भएको छ । सामाजिक विकास डिभिजन कार्यालय पाल्पाको आयोजनामा पाल्पा र गुल्मीका शिक्षकहरूको सहभागीतामा सामुदायिक विद्यालयको समस्या, सुधारको पाटो र तथा सरोकारवाला निकायको भूमिका विषायक प्रतिभा पहिचान कार्यक्रम गरिएको हो ।
सामुदायिक विद्यालयको शिक्षको गुणस्तर सुधार गर्न शिक्षकहरुको सीप विकाससंगै क्षमता अभिवृद्धि गर्नका लागि कार्यक्रम आयोजना गरिएको सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख लक्ष्मण घिमिरेले जानकारी दिए।
कार्यक्रममा सहभागी शिक्षकहरुले शिक्षक, विद्यार्थी, अभिभावक र व्यवस्थापन समितिले खेल्र्नुपर्ने भूमिकाका विषयमा भनाइ राखेका थिए । यस्तै राज्यको नीति तथा स्थानीय तहहरुले खेल्नुपर्ने भूमिकाको बारेमा समेत भनाइ राखेका थिए ।
सहभागीमध्ये दमकडा माविका शिक्षक जीवन आचार्य, महेनद्रबोधि माविका शिक्षक झविन्द्र देवकोटा र दिव्यज्योति माविका शिक्षक लोकेन्द्र थापा क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् । उनीहरुलाई नगदसहित सम्मान गरी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइने सामाजिक विकास डिभिजन कार्यालयले जनाएको छ।


