तानसेन। रिब्दीकोट गाउँपालिका, गाउँ सभाको २० औं अधिवेशन सुरु भएको छ । मंगलबार गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षतामा अधिवेशनको पहिलो बैठक सम्पन्न भएको हो ।
बैठकका सभाध्यक्ष कार्कीले चालू आर्थिक वर्ष २०८२।०८३ पालिकाबाट निवियोजित ५४ करोड ९८ लाख ९३ हजार २३२ रुपैँया बजेटमध्ये चालू आर्थिक वर्षका ११ महिनामा पूँजिगततर्फ ५० दशमलव ८९ र चालुतर्फ ६५दशमलव ९८ प्रतिशत बजेट कार्यान्वयन भएको जानकारी दिए । सभाध्यक्ष कार्कीले आलु आर्थिक वर्षमा ९३ लाख राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा हालसम्म ९८ प्रतिशत राजस्व संकलन भएको बताए ।
यस्तै चालू आर्थिक वर्षमा सम्पन्न मुख्य मुख्य कामहरुमध्ये एक बोट सयको नोट कार्यक्रम अन्तरगत करिब २५ वटा फलफूल तथा जडिबुटीको ३८ हजारबढी बिरुवाको माग भएकोमा उपलब्ध गराउने प्रक्रियामा रहेको, कृषि, पशुपालन, यातायात पूर्वाधार र पर्यटन, जस्ता कामहरु गर्दै आएको बताए । शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद जस्ता क्षेत्रमा पनि पालिकाले विभिन्न गतिविधि गर्दै आएको र सोबाट केही उपलब्धिहरु हासिल भएको अध्यक्ष कार्कीले बताए ।
बैठकको कार्यसूचि अनुसार सभाका सदस्यहरु सोम बहादुर कार्की, प्रकाश रायमाझी, ओम प्रसाद पोखरेल र चिरञ्जिवी पोखरेलले कार्यपालिका सबै सदस्यले सहकार्य र समृद्ध रिब्दीकोट बनाउनका लागि कार्य गर्दै आएको बताएका थिए ।उनीहरुले निर्वाचित भएदेखि पालिका भित्रका नागरिकको चाहना र आवश्यकता अनुसार काम गर्दै आएको बताउँदै सीमित स्रोत र साधानबाट अधिकतम सेवा दिने प्रयास गरेको बताए । उनीहरुले नागरिकको चाहना र आकाक्षा धेरै रहेको र तिनीहरु क्रमशः पूरा हुँदै जाने विश्वास व्यक्त गरे। बैठकको शून्य समयमा सभाका सदस्य सरस्वती श्रेष्ठ, राजेन्द्र प्रसाद नेपाल, मोहनसिंह राना, दुर्गाप्रसाद ढकाल र भरत जिसीले भनाई राखेका थिए ।
बैठकमा सभाध्यक्ष नारायण बहादुर कार्कीले आगामी आर्थिक वर्ष २०८३।०८४ का लािग नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । जसमा १६ वटा क्षेत्रलाई प्राथमिकतामा राखिएको अध्यक्ष कार्कीले प्रस्तुत गरेको कार्यक्रममा राखिएको छ। गाउँपालिकाले विशेष गरी कृषि, पशुपालन, पर्यटन र पूर्वाधार विकासका माध्यमबाट समृद्ध गाउँपालिका निर्माण गर्ने संकल्प गरेको छ ।
गाउँपालिकाले कृषि क्षेत्रको विकासलाई प्रमुख प्राथमिकतामा राख्दै आमजागरण ल्याउने र यसैका माध्यमबाट समग्र विकासको लक्ष्य हासिल गर्ने नीति लिएको छ। कृषि उपजमा आत्मनिर्भर बन्दै निर्यात प्रवर्द्धन गर्नका लागि अकबरे, बेसार, सुन्तला र अदुवा लगायतका बालीहरूका लागि विशेष “पकेट क्षेत्र” निर्धारण गरिने कार्यक्रममा उल्लेख छ। यस्तै स्थानीय स्तरमा उद्योग तथा व्यवसाय प्रवर्द्धन गरी रोजगारी सिर्जना गर्नका लागि विशेष कर नीतिको अवलम्बन गरिने भएको छ।
भौतिक पूर्वाधारहरूको स्तरोन्नति, गुणस्तरीय निर्माण कार्य, वन तथा वातावरण संरक्षण, र विपद व्यवस्थापनमा जोड दिने गाउँपालिकाको योजना छ। यस्तै सेवा प्रवाहलाई चुस्त र आधुनिक बनाउन गाउँपालिकाले विद्युतीय सरकारको अवधारणा बमोजिम कार्य अगाडि बढाउने घोषणा गरेको छ। स्वच्छ, पारदर्शी, जनमैत्री तथा भ्रष्टाचारमुक्त सार्वजनिक सेवा प्रवाह, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य र सरसफाइलाई प्राथमिकतामा राखिएको छ। साथै, लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई पनि विशेष जोड दिइएको छ। यस्तै गाउँपालिकाभित्र रहेका ऐलानी, प्रति, सरकारी तथा सार्वजनिक जग्गाहरूको लगत संकलन, नक्साङ्कन र सीमाङ्कन गरी संरक्षण गर्ने नीति गाउँपालिकाले अघि सारेको छ। धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा पालिकालाई विकास गर्ने योजना समेत प्राथमिकताको सूचीमा समेटिएको छ।
गाउँसभाबाट दुई विद्येयक पारित:
गाउँसभाको बैठकमा दुई वटा विद्येयक सर्वसम्वत रुपमा पारित भएका छन् । कार्यपालिका सदस्य ओम प्रसाद पोखरेलले १९ औं अधिवेशनमा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक -२०८३ र कार्यपालिका सदस्य सुनिल बस्यालले शिक्षा ऐन २०७४ लाई संसोधन गर्ने विद्येयक-२०८३ सभा समक्ष पेश गरेकोमा विद्येयक सभाबाट पारित भएका छन् । यस्तै गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले पेश गरेको बुटवल उपमहानगर पालिकासंग भगिनी सम्बन्ध कायम गर्न प्रक्रिया अगाढी बढाउने प्रस्ताव पनि सभाबाट सर्वसम्वत रुपमा पारित भएको छ ।
यस्तै सभाका सदस्य तथा कार्यपालिका सदस्य चिरञ्जिवी पोखरेलले रिब्दीकोट गाउँपालिकाको वेरुजु फर्छ्यौट सम्बन्धि कार्यविधि २०८३ दफावार छलफलका लागि सभा समक्ष पेश गरेको सभाका सचिव सुरेश भुसालले जानकारी दिए ।



