पाल्पा १ मा घरदैलौ गर्दै कांग्रेस उम्मेदवार राना

तानसेन। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंं १ पाल्पाबाट नेपाली कांग्रेसका उम्मेदवार सन्दिप रानाले पाल्पा क्षेत्र नं. १ मा परिवर्तनको स्पष्ट लहर आएको बताएका छन् । उनले मतदातासंग घरदैलोमा पुगेपछि क्षेत्र नं. १ मा जनता परिवर्तनको पक्षमा रहेको दावी गरे ।

बुधबार माथागढी गाउँपालिकाका विभिन्न गाउँ टोलमा चुनावी प्रचार–प्रसारका क्रममा उम्मेद्वार रानाले गाउँ घरमा आएको परिवर्तनको लहरलाई परिणाममा बदल्ने समय आएको उल्लेख गरे।

“विगतका प्रतिनिधिहरूलाई म आरोप लगाउदिन। उहाँहरुले यस क्षेत्रका लागि जे जति गर्नुभयो आफ्नो क्षमता अनुसार गर्नुभयो । तर, म देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये पाल्पा क्षेत्र नम्बर १ लाई उत्कृष्ट क्षेत्र बनाउन लागि पर्नेछु।” रानाले भने ।

राना बुधबार माथागढी गाउँपालिका ६ को जगात, वडा नं. ५ को हातिलुङ, वडा नं. ४ को झडेवा र वडा नम्बर ७ को रहबास, मटेरीमा जनतासँग भेटघाट गरेका थिए ।

मतदाताका गुनासाहरू सुन्दै रानाले रोजगारीका लागि अधिकांश युवाहरू वैदेशिक रोजगारमा जानुपर्ने अवस्थालाई मध्यनजर गर्दै रोजगार र स्वरोजगारको लागि खाका तयार गरेको बताए।

“पाल्पा क्षेत्र नम्बर १ का १० हजार भन्दा बढी युवाहरू वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन् । उहाँहरुलाई परिवारसँगै स्वदेशमा बसेर काम गर्ने वातावरण तयार पार्नका लागि सिङ्गो क्षेत्र नं. १ को लागि खाका तयार पारेका छौं।” रानाले भने ।

क्षेत्र नम्बर १ का बस्तीहरूलाई धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन र गौरव पर्यटन क्षेत्रको रुपमा विकास गर्ने अवधारणा आफुले अघि सारेको जानकारी दिए।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer