तानसेन। तिनाउ गाउँपालिका वडा नं.- ४, बौरीडाँडाका ६ विपन्न परिवारको ओत लाग्ने सपना साकार भएको छ । गत वर्षायामको प्राकृतिक विपदका कारण थातथलो गुमाएर जोखिमपूर्ण जीवन बिताइरहेका स्थानीयलाई तीन तहका सरकारको संयुक्त लगानीमा नवनिर्मित आवास हस्तान्तरण गरिएको हो ।
अविरल वर्षा र पहिरोले घर बस्नै नमिल्ने गरी क्षतिग्रस्त बनाएपछि विस्थापित बनेका पविसरा आले, हुम बहादुर गाहा, तुल बहादुर गाहा, याम बहादुर दर्लामी, यानीसरा गाहा र कोपिला सरा रानाको परिवारले अब सुरक्षित घरमा बस्न पाउने भएका छन् । वर्षा नजिकिँदै गर्दा ’फेरि कहाँ ओत लाग्ने’ भन्ने चिन्तामा रहेका यी परिवार नयाँ घर पाएपछि हर्षित देखिन्छन् ।
यी आवासहरू निर्माणका लागि संघीय सरकार, लुम्बिनी प्रदेश सरकार र तिनाउ गाउँपालिकाको लागत साझेदारी रहेको छ । जिल्ला विपद व्यवस्थापन कोषबाट प्राप्त रकमलाई आधार मानी प्रति परिवार ४ लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको छ ।
घर निर्माणमा केवल सरकारी अनुदान मात्र होइन, घरधनी स्वयंको समेत उत्तिकै पसिना बगेको छ । ४ लाख अनुदानबाहेक थप आवश्यक रकम र श्रमदानमा स्थानीय परिवारले सक्रिय सहभागिता जनाएका थिए । “सरकारले बाटो देखाइदियो, हामीले आफ्नो सामथ्र्य अनुसारको पसिना बगाएर सुरक्षित छानो हाल्यौं,” लाभग्राही मध्येका एक तुल बहादुर गाहाले खुसी व्यक्त गरे ।
गाउँपालिकाले घर हस्तान्तरण गर्दा प्रक्रियागत शुद्धतालाई उच्च प्राथमिकता दिएको जनाएको छ । गाउँपालिकाका अनुसार प्रहरी मुचुल्का, वडा कार्यालयको स्थलगत सिफारिस र वास्तविक विपन्नताको मापदण्डका आधारमा लाभग्राही छनौट गरिएको थियो ।
आवास हस्तान्तरण गर्दै तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले स्थानीय सरकार नागरिकको सुख–दुःखको साथी भएको बताए । “हाम्रो मुख्य उद्देश्य कोही पनि नागरिक असुरक्षित ओतमुनि बस्न नपरोस् भन्ने हो,” अध्यक्ष श्रेष्ठले भने, “बौरीडाँडाका यी ६ घर त सुरुवात मात्र हुन्, हामीले लक्षित वर्गका लागि अन्य कार्यक्रम पनि ल्याइरहेका छौँ ।”
त्यसैगरी, गाउँपालिकाका उपाध्यक्ष लाल बहादुर दर्लामीले आगामी योजनाबारे जानकारी दिँदै यस वर्ष पनि थप ३ जना अति विपन्न परिवारको घर निर्माणका लागि सिफारिस भइसकेको बताए । “स्थानीय सरकार घरदैलोमै छ भन्ने महसुस गराउन हामी सफल भएका छौँ,” उनले थपे ।
नयाँ घरको हस्तान्तरण हुँदै गर्दा स्थानीय पविसरा आले भावुक बनिन् । उनले भनिन्,- “आकाश गर्जदा र पानी पर्दा रातभर निद्रा लाग्दैनथ्यो । अब भने ढुक्कले निदाउन पाउने भयौँ । सरकार हाम्रै घरआँगनमा आइपुगेको महसुस भएको छ ।”
बौरीडाँडाका बासिन्दाले विपदको समयमा स्थानीय सरकारले देखाएको तदारुकता र घर निर्माणमा गरेको समन्वयका लागि गाउँपालिकालाई धन्यवाद समेत दिएका छन् । पाल्पाका दुर्गम बस्तीहरूमा विपद व्यवस्थापन र सुरक्षित आवासको यो नमुना कार्यले अन्य स्थानीय तहलाई पनि सकारात्मक सन्देश दिएको छ ।



