तानसेन। रिब्दीकोट गाउँपालिका वडा नं-७ स्थित बतासे बजारकाे सडक मर्मतमा गाउँपालिकाले चासो दिएको छ । पश्चिम पाल्पाको लाइफलाइन मानिने हार्थोक छहरा खण्डको बतासेमा पर्ने उक्त सडक कालोपत्रे गर्नका लागि पटक पटक अनुगमन गरी रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले चासो देखाएका हुन्।
अध्यक्ष कार्कीले रिब्दीकोट गाउँपालिका वडा नं. ७ स्थित बतासे बजारमा निर्माणाधीन कालोपत्रे सडकको स्थलगत अनुगमन गरी समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् । अध्यक्ष कार्कीले कामको प्रगति र गुणस्तरबारे जानकारी लिदै सडकको जग, प्रयोग भइरहेका सामग्री र प्राविधिक पक्षहरूको गुणस्तरमा जोड दिन निर्माण पक्षलाई निर्देशन दिएका हुन् ।
स्थलगत निरीक्षणपछि स्थानीय नागरिक र निर्माण व्यवसायीसँगको छलफलमा अध्यक्ष कार्कीले विकास निर्माणमा कुनै पनि बहानामा सम्झौता नगर्न निर्देशन दिए। बतासेबासी मात्रै नभएर रिब्दीकोट रैनादेवीसंगै अर्घाखाँचीसम्मका सवारी चल्ने मुख्य सडक भएका कारण सडक गुणस्तरीय र समयमै निर्माण सम्पन्न गर्नका लागि सबै पक्षबाट पहल गरिएको बताए । अध्यक्ष कार्कीले निर्माण कार्यमा केही प्राविधिक समस्या देखिएमा तत्काल गाउँपालिकालाई जानकारी गराउन र काममा ढिलासुस्ती नगर्न समेत सम्बन्धित पक्षलाई सचेत गराएका छन् ।
बतासे बजार क्षेत्रकाे सडक कालोपत्रे गर्नका लागि लुम्बिनी प्रदेश सरकारले विनियोजन गरेको ४८ लाखबाट निर्माण सुरु भएको गाउँपालिकाका इन्जिनियर पुरन कार्कीले जानकारी दिए । मुख्य बजारमा हुँदै आएको सडक सास्तीको अन्त्यका लागि ठेक्का सम्झौता पश्चात जग निर्माण र वाल उठाउने काम भएको छ । सो काम सम्पन्न भएपछि प्रिमिक्स प्रविधिबाट कालोपत्रे गर्ने योजना रहेको उनले बताए ।
यसैबीच लामो समयदेखि कच्ची सडकका कारण सास्ती खेप्दै आएका बतासे बजारका बासिन्दाहरू सडक कालोपत्रे हुने भएपछि उत्साहित देखिएका छन्। सडक निर्माण सम्पन्न भएसँगै यस क्षेत्रको व्यापारिक चहलपहल बढ्ने र कृषि उपजको ढुवानीमा समेत ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। अनुगमन कार्यक्रममा वडाका प्रतिनिधिहरू, प्राविधिक कर्मचारीहरू र स्थानीय उपभोक्ता समितिका सदस्यहरूको समेत उपस्थिति रहेको थियो।
गाउँपालिकाले आगामी दिनमा अन्य वडाका गौरवका आयोजनाहरूको पनि यसरी नै नियमित अनुगमन गर्ने योजना बनाएको छ।



