युवाको जोस र सत्ताको घमण्डबीच हराउँदै गरेको समाज

तानसेन। आजको युवा शक्ति हो, ऊर्जा हो र परिवर्तनको संवाहक हो। तर, जब यो शक्तिले सही दिशा पाउँदैन, तब यसले निर्माण होइन, विनाशको बाटो रोज्न सक्छ। वर्तमान नेपाली समाजमा हामीले देखिरहेको सबैभन्दा ठूलो संकट युवाको जोस मात्र होइन, बरु त्यो जोससँगै हराउँदै गएको धैर्यता, मर्यादा र जिम्मेवारीको अभाव हो।

आजको पुस्तामा ‘पर्खिने’ बानी हराउँदै गएको छ। अहिलेको अहिले नै नतिजा चाहिने हतारो छ। संघर्ष गरेर शिखर चढ्नुभन्दा ‘सर्टकट’ रोज्ने सोच हाबी भएको छ। जे गरेर भए पनि पुग्नुपर्छ भन्ने यो मानसिकताले गर्दा कति गरिबको चुल्हो निभ्यो र कति परिवारको सपना कुल्चियो भन्ने सोच्ने फुर्सद कसैलाई छैन। समाजमा एउटा खतरनाक प्रवृत्ति पलाएको छ— “मेरो पछाडि मानिस छन्, मलाई कसैले केही गर्न सक्दैन।” यही अहंकारले गर्दा हाम्रो संस्कार र मर्यादा भित्रभित्रै खोक्रो हुँदै गइरहेको छ।

विकास कि निर्दयता?

सहरलाई सुन्दर बनाउने नाममा गरिबका झुपडीहरू भत्काइएका छन्। हामी भन्छौँ— सहर कुरुप भयो। तर, के हामीले कहिल्यै सोचेका छौँ, त्यो झुपडीभित्र पनि सपनाहरू हुन्छन्? त्यहाँ आमाको आँसु, बाबुको संघर्ष र बालबालिकाको भोक लुकेको हुन्छ। यदि विकासको नाममा कसैको जीवन अन्धकार बनाइन्छ भने, त्यो विकास होइन, विशुद्ध निर्दयता हो। सहर अग्ला भवनले मात्र सुन्दर हुँदैन, सहर तब सुन्दर हुन्छ जब त्यहाँ कोही पनि भोकै सुत्नुपर्दैन।

राजनीतिको कुरुप रूप

राजनीति वास्तवमा सेवा हुनुपर्ने हो, तर आज यो शक्ति प्रदर्शनको माध्यम बनेको छ। पद र कुर्सीका लागि हुने भिडन्तमा जनताको पीडा ओझेलमा परेको छ। विगतका आन्दोलन र जनयुद्धमा हजारौँ युवाले परिवर्तनको सपना देखेर रगत बगाए। गरिबले सम्मान पाओस् र शोषणको अन्त्य होस् भन्ने उनीहरूको चाहना थियो। तर आज प्रश्न उठ्छ— के त्यो बलिदानको सही सम्मान भयो? यदि आज पनि पहुँजवालाकै मात्र आवाज सुनिन्छ भने हामीले परिवर्तनको अर्थ अझै बुझ्न सकेका छैनौँ।

प्रविधि छ, तर संस्कार छैन

हाम्रो हातमा मोबाइल छ, जसले सूचना त दियो तर संस्कार दिएन। राजनीतिले नारा दियो तर चरित्र दिएन। समाजले अपेक्षा त दियो तर अवसर दिन सकेन। परिणामस्वरुप, आजका युवाहरू रिस र अशान्तिमा बाँचिरहेका छन्। सफलताको दौडमा हामीले पैसा कमाउन त सिक्यौँ, तर मानिसलाई सम्मान गर्न बिर्सियौँ।

अबको बाटो: निर्माण कि विनाश?

युवाको जोसलाई रिसले होइन, चेतनाले चलाउनुपर्छ। सत्ताको घमण्ड सधैँ टिक्दैन र पैसाको शक्ति स्थायी हुँदैन। मानिसले अन्तिममा सम्झिने भनेको उसको चरित्र र उसले अरूलाई दिएको साथ मात्र हो।

अब युवाहरू केवल नारामा सीमित हुनु हुँदैन। देश छोड्नुपर्ने बाध्यताको अन्त्य गर्न सीप सिक्नु र रोजगारी सिर्जना गर्नु आजको आवश्यकता हो। युवाको हातमा ढुङ्गा होइन, सीप हुनुपर्छ; मनमा घृणा होइन, चेतना हुनुपर्छ।

निष्कर्ष: जनताको आँसुमाथि उभिएको सत्ता धेरै समय टिक्दैन। जब जनता जाग्छन्, तब महलहरू पनि काप्छन्। त्यसैले, युवाको जोस अब विनाशको होइन, निर्माणको शक्ति बन्नुपर्छ। हामीलाई कराउने नेता होइन, सुन्ने नेतृत्व चाहिएको छ। हामीलाई भाषण होइन, मानवता चाहिएको छ।

याद राखौँ: सत्य ढिलो हार्न सक्छ, तर कहिल्यै समाप्त हुँदैन। देश तब मात्र बलियो बन्छ, जब गाउँको किसान मुस्कुराउँछ र मजदुरको हातमा काम हुन्छ।

-नवराज बश्याल (बादल)

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको