तानसेन। पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले सार्वजनिक सडक र पैदल मार्गमा जथाभाबी निर्माण सामग्री राखेर अवरोध गर्नेहरूलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ। गाउँपालिकाले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै सडक र सार्वजनिक स्थलमा व्यक्तिगत सामग्री नराख्न कडा निर्देशन दिएको हो।
गाउँपालिकाका विभिन्न सडक, सडक किनारा र सार्वजनिक स्थानहरूमा निर्माण सामग्री तथा अन्य व्यक्तिगत सामानहरू अव्यवस्थित रूपमा राख्दा सवारी साधन र पैदल यात्रीहरूको आवतजावतमा ठूलो समस्या परेको जनगुनासो बढ्दै गएपछि गाउँपालिकाले यस्तो निर्णय लिएको हो। पछिल्लो समय जनगुनासो बढेपछि यस्ता गतिविधि गर्नेलाई कानूरी कारबाही गर्नेगरी सूचना निकालिएको प्रमुख प्रशासकीय अधिकृत विवेक रणपाल परियारद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
के छ त सूचनामा
“यस गाउँपालिका क्षेत्रभित्र रहेका सडक, सडक किनारा र सार्वजनिक स्थानमा निर्माण सामग्री लगायतका अन्य व्यक्तिगत सामग्रीहरू अव्यवस्थित रूपमा राखि सवारी साधन तथा पैदल यात्रीको आवागमनमा बाधा पुगेको भन्ने जनगुनासो प्राप्त भएकोले आवातजावतमा असर पर्ने गरी कुनै पनि प्रकारका सामग्री नराख्नुहुन अनुरोध गरिन्छ।”
गाउँपालिकाले जारी गरेको यो निर्देशनलाई अटेर गरी सार्वजनिक सडक वा स्थान अतिक्रमण गर्नेलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने व्यहोरा समेत स्पष्ट पारेको छ। सडक सुरक्षा र सुन्दरतालाई कायम राख्न तथा नागरिकको आवागमनलाई सहज बनाउन गाउँपालिकाले यो कदम चालेको हो।
विशेष गरी घर निर्माणका क्रममा ढुङ्गा, बालुवा, गिट्टी र रड जस्ता सामग्रीहरू लामो समयसम्म सडकमै छाडिदिँदा दुर्घटनाको जोखिम समेत बढेको स्थानीयहरूको भनाइ छ। अबदेखि यस्ता सामग्रीहरू व्यवस्थापन नगर्ने व्यक्ति वा निर्माण पक्षले गाउँपालिकाले कारबाहीको दायरामा ल्याउने जनाएको छ ।



