संविधान संशोधन गर्दा राष्ट्रियता र देशको हितलाई केन्द्रमा राख्नुपर्छः पाल्पाका राजनीतिक दल र नागरिक समाज

तानसेन। सरकारले संविधान संशोधनका लागि कार्यदल गठन गरी सुझाव मागिरहेको सन्दर्भमा राष्ट्रिय जनमोर्चा पाल्पाले जिल्लाका राजनीतिक दल, नागरिक समाजसँग वर्तमान राजनीतिक अवस्था र संविधान संशोधन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। तानसेनमा भएको अन्तरक्रियामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गणेश आचार्यले प्रस्तुत गरेको १५ बुँदे अवधारणापत्रमा रहेर छलफल गरिएको थियो ।

कार्यक्रममा सहभागी अधिकांश वक्ताहरूले संविधानको प्रस्तावना बाहेकका अन्य व्यावहारिक कुराहरूमा समय अनुकूल संशोधन गरेर जानुपर्नेमा जोड दिएका छन्। १० वर्षको अवधिमा देखिएका कमीकमजोरीलाई सुधार गर्दै संविधान संशोधन गर्न जरुरी रहेको बताउँदै वक्ताहरूले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, शासकीय स्वरूप र निर्वाचन प्रणालीमा संशोधन गर्दा देशमा अर्को द्वन्द्व निम्तिन सक्ने र विदेशी शक्तिले खेल्न सक्ने भएकाले यसमा सजग रहनुपर्ने उल्लेख गरे। राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको दाबी गरिरहँदा अन्य अधिकांश सहभागीहरूले भने संघीयताले देशलाई बलियो बनाएको तर यसको व्यवस्थापकीय पक्ष कमजोर रहेकाले सुधार आवश्यक रहेको धारणा राखेका थिए।

प्रस्तुत अवधारणापत्र माथि राजमोका केन्द्रीय सदस्य सोम कुमार कार्कीले संविधान संशोधन गर्दै गर्दा मुलुकको रक्षा र नागरिकको हितलाई सर्वपरी बनाउनपर्ने बताए । उनले झण्डै दुई तिहाइको नजिकको सरकार भएकै भरमा जथाभावी रुपमा संविधान संशोधन हुन नसक्ने बताउँदै संघीयतामा प्रदेश खारेजी गरेर संविधान संशोधन गर्नुपर्ने उल्लेख गरे।

संविधान सभा सदस्य लिला सोमैले वर्तमान संविधान मुलुकका लागि उत्कृष्ट भएको बताउँदै समयानुसार संशोधन र आवश्यकतालाई प्राथमिकतामा राखेर मात्रै संशोधनमा जानुपर्ने बताइन् ।

पूर्व सांसद यादव बहादुर रायमाझीले मुलुकमा आएको ठूलो संकटमा पनि जोगिएको संविधानको रक्षा गर्नु सबै राजनीतिक दलको भूमिका रहने बताए । उनले सुझबुझका साथ संविधान संशोधन गर्न सबै राजनीतिक दल एकठाउँमा हुनुपर्ने बताए ।

जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले मुुलुकको सर्वपरी हित हुनेगरी मात्रै संविधान संशोधन गर्न सकिने बताए ।

नेपाली कांग्रेसका प्रवक्ता शोभाखर न्यौपानेले संविधान एकपक्षीय अवधारणाले नआएको बताउँदै संविधान पूर्ण रुपमा कार्यान्वयमा नआउँदा समस्या देखिएको बताए । उनले ऐन, नियम बन्न नसकेको, बनेका कानून कार्यान्वय हुन नसकेको जस्ता विषयमा गम्भीर हुनुपर्ने बेला आएको बताए ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सचिव जगन्नाथ नेपालले संविधान संशोधन आवश्यक रहेका तर, पार्टीको आधिकारीक धारणा आउँन बाकी रहेको बताउँदै संघीयता खर्चिलो नभएर व्यवस्थापनमा कमी कमजोरी देखा परेका बताए ।

राप्रपा पाल्पाका अध्यक्ष डुल बहादुर कुवँरले स्थायी अभिभावकका रूपमा राजालाई राख्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताउँदै राजतन्त्रको वकालत गर्दै गर्दा अन्य दलहरूले गणतन्त्र नै उत्तम व्यवस्था भएको बताएको अवस्थामा यसभित्रका कम कमी-कमजोरीहरू सुधारेर जानुपर्ने बताए।

नेकपा माओवादीका संयोजक मिन बहादुर आलेले आफूहरुले संविधानकै पुर्नरलेखनको मुद्दा उठाउँदै आएको बताए ।

वामपन्थी विश्लेषक मथुरा ढकाल, सहायक क्याम्पस प्रमुख सन्तोष खनाल र बुद्धिजीवी निर्मल श्रेष्ठले जनमोर्चाको कार्यपत्र र वर्तमान संविधानका विषयमा आआफ्नो राय प्रस्तुत गरेका थिए।

राजमो पाल्पाका अध्यक्ष विशाल दर्लामीले संविधान संशोधनका विषयमा विचारहरू संकलन गर्न ७७ वटै जिल्लामा यस्ता अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। उनले संविधानलाई संसोधन गरेर त्यसको उचित कार्यान्वय गर्न पार्टीले पहल गर्दै आएको बताए।

अन्तरक्रिया कार्यक्रम पार्टीका सह-सचिव नर्मती सिंजालीको स्वागत र जिल्ला सचिव विरेन्द्र मिधुनको सञ्चालनमा सम्पन्न भएको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको