तानसेन। बगनासकाली गाउँपालिकाबाट करदाता सेवा सुरु भएको छ । सोमबार आयोजित कार्यक्रममा व्यवसायीक लेखा (प्यान) नम्बर जारी गर्दै सेवाको शुभारम्भ गरिएको हो । आन्तरिक राजस्व कार्यालय रुपन्देहीका प्रमुख कर अधिकृत हरिप्रसाद बस्याल र बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेबीच समझदारी पत्रमा हस्ताक्षर गरेपछि सेवा सञ्चालनमा आएको हो ।
सेवा सुचारु भएसंगै गाउँपालिकाबाटै व्यक्तिगत तथा व्यावसायीक लेखा नम्बर (प्यान) जारी, करदाता परामर्श लगायतका सेवा उपलब्ध हुने गाउँपालिकाले जनाएको छ ।
सेवा सुरु भएपछि गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले नागरिकको सहजताको लागि करदाता सेवा घरदैलौमै आएकोले सेवाबारे समुदायमा सन्देश पु¥याउन आग्रह गरिन। नागरिकको कर नागरिककै विकासमा कार्यान्वयन गर्दै बगनासकालीको समृद्धिमा टेवा पु¥याउने उद्देश्य रहेकोले उद्योगी व्यवसायीहरूलाई समयमै कर तिर्न समुदायमा सुसूचित गर्नुपर्नेमा अध्यक्ष चिदीले जोड दिइन् ।
आन्तरिक राजस्व कार्यालय रुपन्देहीका प्रमुख कर अधिकृत हरिप्रसाद बस्यालले आन्तरिक राजस्व कार्यालय बुटवलबाट प्रवाह हुने सेवा स्थानीय तहमा हस्तान्तरण गर्ने उद्देश्यसहित द्विपक्षीय सम्झौता भएको बताए ।
कार्यक्रममा पहिलो पटक व्यवसायीक प्यान लिने मजबु किराना तथा फलफूल पसलकी सञ्चालकलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
पाल्पामा यसअघि रैनादेवी छहरा गाउँपालिकाले कर सम्बन्धि सेवा सुचारु गरिसकेको छ ।



