परम्परागत खानाको प्रर्वधन गर्न बर्तुङ्गमा खाना तथा सास्कृतिक महोत्सव हुने

तानसेन। परम्परागत रैथाने खानाको प्रवर्धन, संरक्षण तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ ‘प्रथम बर्तुङ्ग खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम २०८३’ आयोजना हुने भएको छ। तानसेन नगरपालिका वडा नं. ६, र बर्तुङ्गस्थित ७ वटा टोल विकास संस्थाहरूको संयुक्त आयोजनामा एक दिने सडक खाना महोत्सव हुन लागेको हो।

महोत्सव यही जेठ ९ गते शनिवार हुने आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । ‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस महोत्सवले पाल्पाको आन्तरिक तथा बाह्य पर्यटन विकासमा ठुलो टेवा पुर्‍याउने विश्वास लिइएको छ ।

महोत्सव मूल आयोजक समितिका अध्यक्ष भूमिकला बुढाथोकीका अनुसार बटुकसहित पाल्पाली चुकाउनी, पकौडा, सेलरोटी र योमरी लगायतका परिकारहरूको पहिचान र प्रचार प्रसार गर्दै १५ वटा खानाका स्टल राखिनेछ ।

महोत्सवमा आगन्तुकहरूलाई आकर्षित गर्न बटुक बनाउने प्रत्यक्ष विधि (तरिका) समेत प्रस्तुत गरिने तयारी छ। महोत्सवमा स्वदेशी र विदेशी पर्यटक आर्कषण गर्ने उद्देश्य रहेको वडा अध्यक्ष सागरमान मर्हजनले बताए ।

वडा सदस्य, रेखा विस्ट, गोमा गैरे, वडा सचिव विशाल वली पत्रकार मासंघ पाल्पाका सचिव रामचन्द्र रायमाझी लगायतले रैथाने खानको प्रचारसंगै यसको बारेमा पुस्ता हस्तन्तरण र सिद्धार्थ राजमार्गकै छेउमा हुने महोत्सवले लुम्बिनी, पोखराका पर्यटकलाई सहभागी गराउनु सके उद्देश्य पूरा हुने धारणा व्यक्त गरे । महोत्सव सम्पन्न गर्न करिब २ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

महोत्सवमा ५ हजारभन्दा बढी दर्शकहरूले अवलोकन गर्ने लक्ष्य राखिएको छ । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूको बेजोड साङ्गीतिक प्रस्तुति, सांस्कृतिक झाँकी आयोजना गरिने स्थानीय सुदर्शन कोइरालाले बताए ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको