जनतासँग माथागढी
तानसेन। पाल्पाको माथागढी गाउँपालिकामा सञ्चालन भएका लिफ्टिङ् खानेपानी आयोजनाले डाँडाबस्तीका नागरिकको दैनिकी फेरिन थालेको छ । वर्षौदेखि खानेपानीको चरम अभाव झेल्दै आएका बस्तीमा घर नजिकै धारा पुगेपछि स्थानीय खुसी भएका छन् । विशेषगरी अग्ला भू–भाग र पानीका प्राकृतिक स्रोत टाढा रहेका वस्तीमा लिफ्ट प्रणालीमार्फत पानी पु¥याइएपछि घण्टौँ लगाएर पानी बोक्नुपर्ने बाध्यता हट्दै गएको स्थानीयले बताएका छन् ।
माथागढी गाउँपालिकाले प्रदेश सरकारसँगको सहकार्यमा सबै वडाका बासिन्दालाई स्वच्छ खानेपानीको पहुँचमा ल्याउने लक्ष्यसहित विभिन्न लिफ्टिङ् खानेपानी आयोजना सञ्चालन गरिरहेको जनाएको छ । गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीका अनुसार केही वर्षअघिसम्म स्थानीयले दुई–तीन घण्टा हिँडेर पानी बोकेर गुजारा गर्नुपर्ने अवस्था थियो । अहिले भने, अधिकांश बस्तीमा खानेपानीको सुविधा विस्तार भएको छ । यस्तै बाँकी स्थानमा पनि काम तीव्र पारिएको अध्यक्ष चिदीले बताए ।

गाउँपालिकाको तथ्यांकअनुसार वडा नम्बर १ मा बदवारी, बाहखोक, अर्पिडाँडा, दोहोरा तथा धारादी रुमालडाँडा लिफ्ट खानेपानी आयोजना सञ्चालनमा छन् । बदवारी आयोजनाबाट करिब १०० घरधुरी लाभान्वित भएका छन् । अर्पिडाँडा दोहोराबाट २४० र धारादी रुमालडाँडाबाट ४० घरधुरीले खानेपानी सुविधा पाएका छन् । जाउँपोखरा तथा बुढीकोट लिफ्ट खानेपानी आयोजना पनि सञ्चालनमा छन्,। जसबाट क्रमशः करिब ४५ र ८० घरधुरी लाभान्वित हुने अपेक्षा गरिएको छ ।
वडा नम्बर ३ मा ओलेस र सरापकोट खानेपानी आयोजना सम्पन्न भइसकेका छन् । ओलेस आयोजनाले ५५ घरधुरी र सरायकोट आयोजनाले ३१ घरधुरीलाई प्रत्यक्ष लाभ दिएको गाउँपालिकाले जनाएको छ । वडा नम्बर ४ मा काफलखोला, बगाले, नेटा, घोरकोटा, मौलाथर, अर्खला, राङ्सिला र केरौली लिफ्ट खानेपानी आयोजना सञ्चालन गरिएका छन् । तीमध्ये धेरै आयोजना सम्पन्न भइसकेका छन् भने केही निर्माणाधीन अवस्थामा छन् ।
यस्तै वडा नम्बर ५ मा बदरदी, कप्टि, पिसेलुङ्, माथागढी अलैचे खानेपानी आयोजना सञ्चालन गरिएका छन् । वडा नम्बर ६ मा अलैचे, ढुङ्ग्रे खोला र पुरनपानी (सातपोखरीघारी मैदान) र टोक्लोक्डी लिफ्ट आयोजनामार्फत बस्तीमा पानी पु¥याउने काम भइरहेको छ । वडा नम्बर ७ मा रहवास र बादुरढाँव तथा वडा नम्बर ८ मा वेतिनी लिफ्ट खानेपानी आयोजना निर्माण भइरहेका छन् ।
वेतिनी आयोजनाबाट मात्रै करिब १ सय २५ घरधुरी लाभान्वित हुने अपेक्षा गरिएको छ । माथागढी–३, सरापकोटका स्थानीय बासिन्दा दलबहादुर रानाका अनुसार खानेपानी सहज भएपछि दैनिक श्रम बचत हुनुका साथै सरसफाइ, स्वास्थ्य र कृषि कार्यमा समेत सकारात्मक प्रभाव परेको छ ।
पहिले बिहानभरि खानेपानी बोकेर खानुपर्ने बाध्यता थियो, अहिले पानी आएपछि बोक्न नपर्ने भएको छ भने समयको समेत बचत भएको रानाले बताउनुभयो । गाउँपालिकाले आगामी वर्षहरूमा बाँकी बस्तीलाई समेत सुरक्षित खानेपानीको पहुँचमा ल्याएर “एक घर, एक धारा” अभियानलाई प्रभावकारी बनाउने लक्ष्य राखेको जनाएको छ ।
गाउँपालिकाले पछिल्लो समय सबै क्षेत्रमा खानेपानीको आधारभूत आवश्यकता पु¥याउने लक्ष्य राखेको छ । सोही लक्ष्य अनुसार सबै वडामा काम भइरहेको खानेपानीका प्राविधिक दिपकराज क्षेत्रीले बताए ।






