तानसेनको नीति तथा कार्यक्रम सार्वजनिक, के के छन् प्राथमिकतामा ?

पाल्पा। तानसेन नगरपालिकाको १९ औं नगरसभा शुरु भएको छ । नगर सभाको पहिलो बैठकका सभाध्यक्ष एवं नगर प्रमुख सन्तोषलाल श्रेष्ठले चालू आर्थिक वर्षमा सम्पन्न भएका कार्यको विवरण प्रस्तुत गरे । बैठकमा आगामी आर्थिक वर्ष २०८३।०८४ का लागि नीति तथा कार्यक्रम समेत सभामा पेश गरेका छन् ।

नगरप्रमुख श्रेष्ठले पेश गरेको नीति तथा कार्यक्रममा स्थानीय आर्थिक विकास, तानसेनको पर्यटन विकास, उद्योग व्यापार र रोजगार प्रबर्द्धन, कृषि, पशुपक्षीं ,सहकारी, स्थानीय कृषि उपजको बजार व्यवस्थापन ,स्वास्थ, शिक्षा ,स्वच्छ खानेपानी, फोहोरमैला व्यवस्थापन लगायत सामाजिक विकास समावेश गरिएको छ ।

यस्तै नीति तथा कार्यक्रम तानसेनलाई मासु, दूध, अण्डा र तरकारीमा आत्मनिर्भर भएको घोषणा गर्ने, दूध उत्पादक कृषकहरूलाई प्रोत्साहन गर्न प्रतिलिटर तीन रुपैयाँका दरले अनुदान उपलब्ध गराइने, बाँझो जमिनलाई उत्पादनमूलक खेतीमा उपयोग गर्न प्रतिरोपनी ५ हजार रुपैयाँ अनुदान दिने नीतिलाई निरन्तरता दिने उल्लेख गरेका छन् ।

यस्तै वडा नं. ७ मा रहेको शीतभण्डार सञ्चालनमा ल्याइने तथा वडा नं. ५ को गोदाम घरमा अदुवा बीउ भण्डारण गरेमा कृषकलाई प्रति केजी ५० रुपैयाँ अनुदान दिइने व्यवस्था गरिएको छ उनले बताए ।

हेफर प्रोजेक्ट नेपालसँगको साझेदारीमा ‘तानसेन आर्थिक विकास’ परियोजनालाई प्रभावकारी रूपमा अगाडि बढाउने, तानसेनको ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाहरू, श्रीनगर, गुफाचौर, पाल्पा दरबार क्षेत्र, रानीमहल, ऋषिकेश रुरु क्षेत्र तथा रणउजिरेश्वरी भगवती मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न आवश्यक पहल र समन्वय गरिने, पाल्पाको परम्परागत ऐतिहासिक जात्राहरूको संरक्षण गर्दै नगरको मौलिक संस्कृति जोगाउन पुराना र मौलिक शैलीमा निर्माण हुने घरहरूलाई विशेष प्रोत्साहन दिइने नीति लिइएको श्रेष्ठले बताए ।

रिडीस्थित तीनमुखे पुलमा लाइटिङ र अन्य सौन्दर्यकरणका लागि बजेट सुनिश्चित गरिएको, प्रभास कमलपोखरी, सूर्यकुण्ड, अर्गली कुडापानी क्षेत्रत्रलाई ऐतिहासिक महत्वसँग जोडेर विशेष पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सम्बन्धित निकायसँग सहकार्य गर्ने, युवाहरूलाई उद्यमशीलता र दिगो रोजगारमा जोड्न इन्स्योर परियोजनासँगको सहकार्यमा कुक, प्लम्बिङ, इलेक्ट्रिसियन र कम्प्युटर हार्डवेयर/नेटवर्किङ जस्ता सीपमूलक तालिमहरू प्रदान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

विद्यालयस्तरमा प्राविधिक शिक्षा र पढ्दै कमाउँदै कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए । एचआईभी सङ्क्रमितहरूलाई मासिक ५०० रुपैयाँ औषधि उपचार सहायता दिइने, प्रत्येक वडामा हरित पार्क र खुला व्यायामशाला निर्माण, करदाता शिक्षा र विद्युतीय राजस्व सङ्कलन प्रणालीलाई अनिवार्य गर्दै डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने, ‘जनताको घरदैलोमा मेयर’ कार्यक्रम, गरिनेछ नीति तथा कार्यक्रममा उल्लेख छ ।

नगर सभाको शुन्य समयमा नगर सभाका सदस्यहरु डिल बहादुर थापा, कमल बहादुर दर्लामी, राधिका थापा, यम बहादुर कार्की, करण बहादुर रेश्मी, माधव प्रसाद बस्याल, सीता बस्नेतले धारणसहित सुझाव दिएका थिए ।

यसैबीच नगरसभाका बहुमत सदस्यले आगामी आर्थिक वर्षका लागि पेश भएको नीति तथा कार्यक्रम पारित गरेका छन् । नगर सभाको अर्को बैठक आगामी असार ९ गते बस्ने गरि पहिलो बैठक सम्पन्न भएको नगर सभाका सचिव एवं प्रमुख प्रसाशकीय अधिकृत चेतनाथ गिरीले जानकारी दिए ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको