जनतासँग माथागढी
पाल्पा । हिजो-आज हामीले बजारबाट किनेर ल्याउने तरकारी र फलफूल हेर्दा जति राम्रा देखिन्छन्, भित्रभित्रै उति नै असुरक्षित बन्दै गएका छन्। धेरै फलाउने र कीरा मार्ने नाममा खेतबारीमा रासायनिक विषादीको जथाभावी प्रयोग भइरहेको छ। यसले गर्दा हाम्रा थालमा आउने खाना बिस्तारै ‘स्लो पोइजन’ (मन्द विष) जस्तो बन्दै गएको छ। यही गम्भीर समस्यालाई कम गर्न र उपभोक्ता तथा किसान दुवैको स्वास्थ्य जोगाउन पाल्पा जिल्लामा एउटा नयाँ र आशालाग्दो काम सुरु भएको छ। त्यो हो– ‘वासवी करण विधि’ बाट जैविक (प्राकृतिक) विषादी बनाउने प्रविधि।
करिब दुई वर्षअघि पूर्वी नेपालको तेह्रथुम जिल्लाबाट सुरु भएको यो नौलो विधि अहिले पाल्पाका विभिन्न गाउँहरूमा परीक्षणका रूपमा सञ्चालन भइरहेको छ। यो विधिले महँगो र हानिकारक रासायनिक विषको ठाउँमा घरमै उपलब्ध जडीबुटीबाट सस्तो, सुरक्षित र प्रभावकारी ओखती बनाउन सकिन्छ भन्ने आशा जगाएको छ।
के हो ‘वासवी करण विधि’ र यो कसरी काम गर्छ ? सामान्य भाषामा बुझ्दा, वासवी करण विधि भनेको हाम्रै वरिपरि पाइने तीता, टर्रा र अमिला जडीबुटीहरूलाई पकाएर र कुहाएर त्यसको शुद्ध अर्क (रस) निकाल्ने प्रविधि हो। यो विधि पूर्ण रूपमा प्राकृतिक छ, त्यसैले यसबाट बनेको विषादीले कीरा त मर्दछन् तर माटो र मानिसलाई कुनै नोक्सान पुग्दैन। यसको निर्माण प्रक्रिया गाउँघरमा परम्परागत रूपमा जाँड र रक्सी बनाउने घरेलु प्रविधिसँग दुरुस्तै मिल्छ।
यसलाई मुख्य रूपमा तीन चरणमा तयार पारिन्छ:
१. जडीबुटी संकलन: हाम्रै खेतबारीको डिल, जंगल र खोल्सामा पाइने असुरो, तितेपाती, बकाइनो, निम, खिर्रो, र सिस्नो जस्ता वनस्पतिहरू संकलन गरेर मसिनो गरी काटिन्छ।
२. पकाउने र कुहाउने: यी जडीबुटीहरूलाई ठूलो भाँडा (होन्डा) मा राखेर राम्रोसँग पकाइन्छ र सेलाएपछि १२ देखि १५ दिनसम्म जाँड जस्तै हावा नछिर्ने गरी कुवाइन्छ।
३. बाफबाट अर्क निकाल्ने: कुहिएको मिश्रणलाई रक्सी पार्ने परम्परागत भाँडा (हाइँड) मा राखेर आगो बालिन्छ। त्यसबाट निस्किने बाफलाई चिसो पारेर शुद्ध तरल अर्क निकालिन्छ, जुन वनस्पतिको प्रकृतिको आधारमा पानी मिसाएर खेतीबालीमा छर्किइन्छ।
पाल्पाका गाउँगाउँमा उत्साह: के भन्छन् स्थानीय किसान? यो प्रविधि तेह्रथुमको सफलतापछि सामाजिक स्राेत विकास केन्द्र एसआरडिसी का पितम्बर बस्यालले पाल्पा भित्र्याएका हुन्। हाल माथागढी गाउँपालिका (रुप्से, झडेवा, कसेनी) मा यसको सफल परीक्षण भइरहेको छ।
सुरु-सुरुमा घरमै रक्सी पारेझैँ विषादी बन्छ भन्दा अचम्म मानेका किसानहरू अहिले यसको नतिजा देखेर दङ्ग छन् र आफ्ना अनुभवहरू उत्साहका साथ सुनाउँछन्। माथागढी ४ का किसान टेकबहादुर घर्ती मगर आफ्नो अनुभव सुनाउँदै भन्छन : ”पहिले बजारको महँगो रासायनिक विष छर्दा आफैँलाई रिंगटा लाग्ने, छाला चिलाउने गर्थ्यो। तर यो वासवी करण विधिबाट बनेको जैविक विषादी छर्दा त्यस्तो केही हुँदैन। हाम्रै पाखापखेरामा कुहिएर जाने तितेपाती र असुरोबाट यति राम्रो ओखती बन्दोरहेछ। यसले तरकारीका कीरा त मरे नै, बजारबाट विषादी किन्ने पैसा पनि जोगियो। यो प्रविधि त हाम्रा लागि वरदान जस्तै भएको छ।”
त्यस्तै, माथागढीकै अर्की स्थानीय महिला कृषक बिना सूर्यवंशीले पनि यो विधिको सरल र जीनवउपयाेगी रहेकाे बताइन् । यनले भनिन्, ”बजारको औषधि हालेको तरकारी आफ्ना केटाकेटीलाई खुवाउन पनि डर लाग्थ्यो। अहिले घरमै रैथाने जडीबुटी पकाएर बनाएको जैविक विषादी हाल्न थालेपछि ढुक्क भएको छ। यसले तरकारीको स्वाद पनि सुधारेको छ र माटो पनि बिग्रिएको छैन। हाम्रा गाउँका सबै दिदीबहिनीहरू मिलेर अब यसलाई व्यावसायिक रूपमै अगाडि बढाउने सोचिरहेका छौँ।”
रासायनिक विषादीको डरलाग्दो रूप र जैविक विधिको आवश्यकता हामीले सोचेका हुन सक्छौँ– बजारमा किन्न पाइने विषादीले छिट्टै कीरा मार्छ, तसर्थ त्यही सजिलो छ। तर त्यो सजिलोपनले हाम्रो भविष्य बर्बाद पारिरहेको छ।
रासायनिक विषादीको अत्यधिक प्रयोगका कारण अहिले समाजमा क्यान्सर, कलेजो र मिर्गौलाका समस्या, अपाङ्गता र बाँझोपन जस्ता गम्भीर स्वास्थ्य संकटहरू डरलाग्दो गरी बढिरहेका छन्।
छिमेकी देश भारतका कतिपय कृषि प्रधान क्षेत्रमा त रासायनिक विषादीका कारण सिङ्गो गाउँ नै क्यान्सरको शिकार भएको उदाहरण छ। अर्कोतर्फ, रासायनिक विषले माटोलाई मलिलो बनाउने गँड्यौला जस्ता मित्रजीवहरूलाई सखाप पारेर माटोको प्राकृतिक उर्वराशक्ति मारिदिन्छ। यस्तो अवस्थामा ‘वासवी करण विधि’ एउटा सञ्जीवनी बुटी जस्तै बनेर आएको छ।
प्रविधि विस्तारकर्ता पितम्बर बस्याल भन्छन्, “रासायनिक विषादीको विकल्पको रूपमा यो विधि अत्यन्तै प्रभावकारी र भरपर्दो छ। यसले हाम्रो स्वास्थ्य, माटोको आयु र समग्र पर्यावरणलाई नै नयाँ जीवन दिन्छ।”
माथागढी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष तेजबहादुर मगरले गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अनुदान र अभिमुखीकरणका कार्यक्रमहरू निरन्तर चलाउँदै आएको बताए ।
उनले भने, “पोहोर-परार पनि हामीले अनुदानमा मलहरू बाँड्यौँ, त्यो निकै राम्रो रह्यो। अहिले हाम्रो मुख्य चुनौती किसानको मानसिकता बदल्नु हो, अब हामीले सचेतना फैलाएर राेग नियन्त्रणकाे अभियान चालाउने छाैं ।”
गाउँमा जैविक विषादी बनाउन पुग्ने जडीबुटीहरू प्रशस्तै छन्, तर प्रविधि अलि झन्झटिलो मानेर किसानहरू बनाउन दुःख मान्नुहुन्छ। थोरै ठाउँमा धेरै र छिटो उत्पादन चाहिने हुनाले कीरा लाग्ने बित्तिकै बजारबाट ‘मेटासिट’ जस्ता कडा विष ल्याएर छर्किने सजिलो उपाय खोज्ने बानी परेको छ।”
“बजारको महँगो विषभन्दा आफ्नै गाउँघरको जैविक मल र विषादी नै प्रयोग गर्नुपर्छ भन्ने चेतना किसानहरूमा आइसकेको छ। यसैका लागि हामीले SRDC सँग सहकार्य गरेर गाउँमै पुगी व्यावहारिक तालिमहरू दिएका छौँ र निरन्तर सचेतना जगाउने काम गरिरहेका छौँ।” घर्तीले भने ।
अहिले नै सबै किसानले यो विधि पूर्ण रूपमा प्रयोग नगरेकाे भएपनि केही जागरुक किसानहरूबाट सुरु भएको यो अभ्यास बिस्तारै गाउँभरि फैलिने अभियानमा वडा र पालिकाले पहल गर्ने जनाएकाे छ ।




