पाल्पा । बगनासकाली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५७ करोड ८१ लाख, ९६ हजार बारबरको बजेट पेश गरेको छ । गाउँपालिकाको गाउँसभाको २० औं अधिवेशनको दोस्रो बैठकमा उक्त बजेट पेश भएको हो । गाउँपालिकाका उपाध्यक्ष हरी प्रसाद पाठकले उक्त बजेट गाउँसभामा पेश गरेका हुन् ।
गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तावित बजेटका मुख्य उद्देश्य तथा प्राथमिकताहरू निर्धारण गरेको छ। नेपालको संविधानले सुनिश्चित गरेका मौलिक हक, राज्यका मार्गनिर्देशक सिद्धान्त तथा नीतिहरूको कार्यान्वयन र गाउँपालिकाको दीर्घकालीन सोचलाई मूर्त रूप दिन बजेट केन्द्रित गरिएको गाउँपालिकाले जनाएको छ।
प्रस्तुत बजेटमा ११ वटा मुख्य उद्देश्य र १० वटा बुँदामा प्राथमिकताहरू तय गरिएका छन्। जसमा कृषि क्षेत्रको व्यावसायिकरण, विविधिकरण र यान्त्रिकीकरणका माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कार्यलाई प्रमुख उद्देश्य मानिएको छ। यसका साथै कृषि तथा पशुपालनलाई व्यावसायिक बनाई आयआर्जन बढाउने र उत्पादनमूलक क्षेत्रमा उद्यमशीलताको विकासमार्फत गरिबी न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ।
यस्तै बजेटले विकासका पूर्वाधारहरूको पहुँच बस्तीस्तरसम्म विस्तार गर्ने, सन्तुलित, समावेशी र समन्वयिक विकासमार्फत विभिन्न वर्ग, लिंग, समुदाय र जातजातिको स्रोत साधनमा पहुँच अभिवृद्धि गर्ने उद्देश्य लिएको छ। त्यस्तै, स्थानीय श्रम सीपको प्रवर्द्धन, स्वच्छ खानेपानी, सरसफाइ तथा स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि र वातावरणमैत्री नीति तथा कार्यक्रमको कार्यान्वयनलाई पनि प्राथमिकतामा राखिएको छ।
सार्वजनिक सेवालाई सरल, सहज, निष्पक्ष, पारदर्शी, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै सुशासनको प्रत्याभूति दिने र बगनासकालीलाई एक समृद्ध, समुन्नत र स्रोत साधन सम्पन्न आधुनिक गाउँपालिकाको रूपमा विकास गर्ने दीर्घकालीन उद्देश्य बजेटले बोकेको छ।
उपाध्यक्ष पाठकले बजेट प्रस्तुत गर्दै बजेटका उद्देश्यहरू पूरा गर्न सोको कार्यान्वयका प्राथमिकतामा राखेर काम गरिने उल्लेख गरे । उनले, कृषि र पशुपालन क्षेत्रमा उत्पादकत्व वृद्धि र उत्पादन क्षमतामा सुधार गर्ने, विकासका पूर्वाधारहरूको विकास र विस्तारका साथै स्थानीय मागमा आधारित भौतिक पूर्वाधारको निर्माणगर्ने, आधारभूत स्वास्थ्य क्षेत्रको विस्तार र गुणस्तरीय शिक्षाको उपलब्धता गराउने, रैथाने भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण र जगेर्नागर्ने तथा स्वच्छ खानेपानी तथा सरसफाइ व्यवस्थापन, वन तथा वातावरण संरक्षण र विपद व्यवस्थापन गर्ने विषय समावेश भएको बताए ।
यस्तै महिला, दलित, आदिवासी जनजाति, युवा, विपन्न र आर्थिक तथा सामाजिक दृष्टिले पछाडि परेका वर्गहरूको संरक्षण र सशक्तिकरण, घरेलु तथा साना उद्योगको संरक्षण र विकासका साथै सार्वजनिक सेवा प्रवाह र जनशक्ति व्यवस्थापन जस्ता विषयलाई प्रातमिकतामा राखेर बजेको कार्यान्वय हुने उल्लेख गरे ।
गाउँसभामा राजस्व परामर्श समितिका संयोजक हरी प्रसाद पाठकले पेश गरेको आर्थिक विधेयक ३०८३ र विनियोजन विधेयक २०८३ छलफलका लागि शभामा पेश भएका छन् । यस्तै विधेयक समितिकी संयोजक उमकला अर्यालले प्रस्तुत गरेको लैगिक हिंसा निवारण, पुनस्थापना तथा सेवा कोष सम्बन्धि विधेयक छलफल गरी सभाबाट पारित भएको सभाका सचिव एवं प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले जानकारी दिए ।
सभाको शुन्य समयमा गाउँसभाका चार जना सदस्यले भनाइ एवं सुझाव राखेका थिए ।





