खानीछापका १२ मन्दिरः प्रचारकाे अभावले ओझेलमा

तानसेन। लुम्बिनी प्रदेश अन्तरगतको पाल्पा जिल्लाको उत्तर खण्डमा अवस्थित छ बगनासकाली गाउँपालिका । यो पालिकाभित्रका नौ वटा वडामध्येको वडा नं. ४ हो खानिछाप । अधिकांश मगर समुदायको बसोबास रहेको यो वडा कालीगण्डकी नदीसंगको सीमानासंगै माथागढी, गाउँपालिका र केही भाग सिद्धार्थ राजमार्गसंग पनि जोडिएको छ । समुद्री सतहदेखि कम उचाईमा रहेको राम्दी हुँदै खानीछापको डाडाँसम्म यो वडाले छोएको छ ।

भौगोलिक हिसाबले पहाडी भू भाग रहे पनि धार्मिक पर्यटन, ऐतिहासिक, सास्कृतिक मात्रै हैन यो वडामा पुरातात्कि महत्तव पनि उत्तिकै रहेको छ। शिला सालिग्राम पाइने उत्तरबाहिनी कालीगण्डकी नदीको शिरमा रहेका यो वडाका हरेक गाउँ र टोलहरुमा स्थापना गरिएका विभिन्न मठ मन्दिरले पनि यो वडाको महत्तव थपेको छ । धेरै मगर समुदायको बासोबास रहे पनि यहाँका समुदायले स्थापना गरेका मठ मन्दिर र पूजा आरधनाको छुट्टै महत्व रहेको छ। तर, उचित व्यवस्थापन र प्रचार अभावले यहाँका महत्वपूर्ण धार्मिक पर्यटकिय स्थल अहिलेसम्म पनि ओझेलमा रहेका छन् ।

मठ मन्दिर स्थापना, यसको महत्तवः
जनजाति (मगर) समुदायको धेरै बसोबास भएका खानीछापभित्र करिब एक दर्जन मठ मनिदर स्थापना गरी हालसम्म पूजा आजा हुँदै आएको छ । सुरुमा फरक फरक महत्व र धारणका आधारमा निर्माण गरिएका मन्दिरहरु अहिले नृत्य पूजा र औपचारिकतामा सिमित भएका छन् । पछिल्लो समय विभिन्न कारणले गाउँमा बस्नेहरु घटेको र नयाँ पुस्ताले पुराना मठ मन्दिर संरक्षणको पहल नर्गदा नृत्य पूजा र औपचारिक रुपमा मात्रै मन्दिर संचालन भएका छन् ।

खानीछापभित्र रहेका यी हुन मुख्य मन्दिरहरुः

१) नवदुर्गा भगवती मन्दिर गुडुवाखोलाः
नवदुर्गा मन्दिर स्थानीयको पहलमा वि.स. २०४६ साल साउन ३ गते विधिवत रुपमा स्थापना भएको थियो । यो मन्दिरमा हरेक वर्ष वडा दशैं र चैते दशैमा पुजा आजा हुँदै आएको छ । यसका साथै स्थानीयको पहलमा स्थापना भएको नवदुर्गा मन्दिर स्थापनाका दिनमा २४ घण्टे अखण्ड हेर कृतन समेत हुँदै आएको थियो । तर, पछिल्लो समय १२ घण्टा हुँदै हाल औपचारिक रुपमा मात्रै स्थापना दिवसमा पूजा आरधना हुने गरेको स्थानय कुल प्रसाद अर्यालले बताए। नवदुर्गासंगै कालिकाको मन्दिर पनि रहेको हुँदा दुर्गा मन्दिरको पुजा गर्दा स्थानीयले कालिकालाई वलीसहितको पुजा हुने गरेको स्थानीयले बताएका छन् । यो मन्दिरमा दशैंमा गुडुवाखोला र लुहुङ्दीका स्थानीयले सामूहिक रुपमा टीका लगाएर पर्व पनि मनाउदै आएका छन् । दुर्गा र कालिका मन्दिरमा रोट, पञ्चवली र अन्य पूजाहरु पनि हरेक समयमा हुने गरेको छ। कालिका मन्दिरमा केही समयअघि स्थानीय कृष्ण अर्याललको पहलमा नयाँ मूर्ति पनि स्थापना गरिएको छ। यस्तै सोही स्थानमा स्थानीयबासीको सकार्यबाट शिव मन्दिर पनि स्थापना गरेर शिव पूजा तथा साउन, शिवरात्रि जस्ता पर्वको बेला पूजाहरु हुँदै आएको छ ।

२) गुरु वशिष्ठ सिद्ध, जलझाक्री मन्दिर तीनछागाः
गुरु वशिष्ठ ऋषिले तपश्या गरेको तीन झरनाको फेदमा रहेको यो मन्दिरमा हरेक वर्षको बैशाख १ गते पूजा आरधना हुँदै आएको छ । साविकको वडा नं. १ का तीनछागा, गुडुवाखोला र तिखुमसंगै लुहुङ्दीका स्थानीयले यो मन्दिरमा पूजा गर्ने गरेका छन् । स्थापनाको इतिहास नभेटिए पनि यहाँका जानकारले परापूर्वक कालदेखि नै यो मन्दिरमा पूजा गर्दै आएको पाइन्छ । धार्मिक मात्र नभएर पुरातापत्यक महत्व समेत बोकेको स्थललाई संरक्षण र प्रचार हुन नसक्दा भने ओझेलमा रहेको तीनछागाका स्थानीय भाजबहादुर चर्तीको भनाइ छ।

३) दुर्गा भगवती कालिका मन्दिर मलेङ
दर्गा भगवतीको मन्दिर वि. स. २०५३ सालतिर स्थापना भएको थियो । साविक मलेङ गाविस वडा नं. २ र ९ का स्थानीयले स्थापना दुर्गा पूजा र दशैं मनाउनका लागि यो मन्दिरको स्थापना गरेको स्थानीय पोस्कान्त तिमिल्सिनाले बताए। स्थापना कालदेखि नै दैनिक नृत्य पूजाको अलवा बडा दशैंमा श्रीमत् भागवत कथा वाचन र चैतै दशैंमा विशेष पूजा हुँदै आएको तिमिल्सिनाले बताए। यो मन्दिरमा खासगरी दशैमा गाउँभरीका मानिस जम्मा भएर पूजा गरी टीका लगाउने प्रचलन पनि रहेको छ। अन्य समयमा समेत यो मन्दिरमा भाकल अनुसारको पूजा हुँदै आएको स्थानीयको भनाइ छ ।

४) शिवालय मन्दिर मलेङ
मलेङस्थित दुर्गा भगवतीको मन्दिरसंगै शिवालय मन्दिर स्थापना गरिएको छ । करिब एक दशक अघि अमेरिकामा बस्दै आएकी निशा न्यौपानेको आर्थिक सहयोगमा मन्दिर निर्माण भएको हो । यो मन्दिरमा काशिराम न्यौपानेले शिवको मूर्ति सहयोग गरेका छन् । यो मन्दिरमा नृत्य पूजा नभएपनि हरेक वर्ष शिवरात्रिमा भने पुजा हुँदै आएको स्थानीय पण्डित समेत रहेका पोस्कान्त तिमिल्सिनाले बताउछन् । स्थापना भएदेखि नै वर्षभरी पूजा गर्नेतर्फ भने समुदायले पनि चासो नदिएको उले बताए ।

५) राम हनुमान मन्दिर राम्दी
सिद्धार्थ राजमार्ग बन्ने क्रममा स्थापना भएको मन्दिर हो राम मन्दिर । सिद्धार्थ राजमार्ग निर्माणका बेला तेजी साहेब नाम गरेका व्यक्तिको पहलमा यो मन्दिर स्थापना भएको थियो र राजमार्ग बनाउन तेजी स्वयम् बस्न निर्माण गरिएको भवनमा पछि राम, लक्ष्मण, सीता, र हनुमानको मूर्ति स्थापना गरेर यो मन्दिर बनेको पाइन्छ । जानकारहरुका अनुसार यो मन्दिरमा विवाह, बर्तबन्धनलगायतका कार्य हुने र हरेक वर्ष राम नवमीका दिन विषेश पूजा पनि हुँदै आएको छ । मन्दिरसंगै २।३ रोपनी गुठीको जग्गा समेत रहेको भएपनि पछि भोगचलन गर्नेहरुले सो जग्गाको बिक्रि गरेको स्थानीयले बताएका छन् ।

६) क्षेत्रपाल मन्दिर मलेङ
मलेङको बस्याल टोलमा क्षेत्रपालको मन्दिर रहेको छ । खासगरी बस्यालहरुले पुजारी भएर परापूर्वक कालदेखि नै मन्दिरमा पूजा आजा गर्दै आएको किम्वदन्ती रहेको छ । पछि अगाहाखोलाबाट भाकल पूरा भएको खुसीमा २०६२।०६३ सालतिर नयाँ मन्दिर बनाई पूजा हुँदै आएको स्थानीय गणेश बस्यालले बताए । यो मन्दिरमा हरेक वर्ष चैते दशैमा सोतो पाठको बली दिएर पूजा हुने गरेको बस्यालले बताए । क्षेत्रपाल भगवानलाई भाकल गरेमा मनोकाक्षा पुरा हुने हुँदा अन्य समयमा पनि भाकल अनुसार पुजा भने हुँदै आएको पनि बस्यालले बताए । खासगरी साविकको २ नं. वडाका बस्यालसंगै न्यौपाने र अधिकारीहरुले पुजा गर्ने यो मन्दिरमा साविक ९ नं। वडाको कही स्थानीयले पनि पूजा गर्दै आएका छन् । यो मन्दिरको व्यवस्थापन भक्तजनको भेटीबाटै हुने गरेको छ।

७) कालिका, मण्डली, जलेसी मन्दिरः
खानीछापमा बसोबास गर्ने स्थानीयले यो मन्दिर स्थापना गरेका हुन् । स्थापनाको पुरानो इतिहास नभए पनि यो मन्दिरमा हरेक वर्ष मंसिर र बैशाख पूर्णीमामा भेजा पुजा हुने गरेको छ । अन्य समयमा भाकल गर्ने र पर्णीमामा वलीसहितको पुजा हुने गरेको स्थानीयले बताएका छन् ।

८) कालिका मन्दिर पित्लुङ्गछाप
पित्लुङ्गछापका स्थानीयले पुजा गर्नका लागि यो मन्दिर स्थापना भएको हो । खासगरी मगर समुदायले पूर्णीमा पूजा गर्नका लागि स्थापना भएको यो मन्दिरमा भाकल अनुसार अन्य समयमा पनि पुजा हुने गरेको स्थानीयले बताएका छन् । यो क्षेत्रको पुरानो मानिने यो मन्दिरमा गरेका भाकलहरु पुरा हुने विश्वासका साथ स्थानीयसंगै बाहरिबाट पनि भक्तजन आउने गरेका छन् ।

९) कालिका र शिव मन्दिर महछापः
साविकको महछाप गाविसको वडा नं ७ मा दुई वटा मन्दिर रहेका छन् । यहाँ रहेका कालिका मन्दिरमा मंसिर र बैशाख पूर्णीमामा भेजा पुजा गर्ने प्रचलन रहेको छ । मगर समुदायको महत्वपूर्ण पूजा अन्तरगत मानिने भेजा पूजाका अलवा यो मन्दिरमा भाकल अनुसार अन्य समयमा पनि पूजा हुने गरेको छ । तर, नृत्य पूजा भने हुने गरेको छैन् । यस्तै सोही वडामा रहेको शिवको मन्दिरमा हरेक वर्ष शिवरात्रिमा विधिवत पुजा हुने गरेको स्थानीयले बताएका छन् । भगवान शिवको पुजा गरी पर्व मनाउने प्रचलन रहे पनि अन्य बेलामा भने खासै पूजा नहुने स्थानीयले बताए ।

१०) चण्डीदेवी कालिका मन्दिर, भैरव खाण्देवी कालीनाग भालेबासः
भालेबासमा बसोबास गर्ने मग समुदायले स्थापना गरेको यो मन्दिरमा भेजा पूजाका साथै अन्य पूजा हुने गरेको छ। स्थानीयले मनोकाक्षा पूरा हुने भएपनि कालीनाग र खाणदेवीको मन्दिर स्थापना गरेर यो स्थानमा पूजा गर्ने गेका छन् । यसका साथै यही मन्दिरमा भैरव बाबाको प्रतिमूर्ति स्थापना गरेर भाकल अनुसार पूजा हुँदै आएको पाइन्छ ।

११) चण्डीदेवी मन्दिर तिखुमः
तिखुमका मगर समुदायले भाकल अनुसार पूजा गर्न यो मन्दिर स्थापना गरेका हुन् । यो मन्दिरमा पनि अन्य मन्दिरमा जस्तै मंसिर र बैशाखे पूर्णीमामा भेजा पूजा हुने गर्दछ । पूर्णीमाको दिन वली भडाएर पूजा गरी मनोकाक्षा पुरा हुने र बस्तुभाउ तथा अन्नबालीको उत्पादन पनि वृद्धि हुने मान्यताका आधारमा यो मन्दिरमा पनि पूजा गर्दै आएको स्थानीयले बताएका छन् ।

१२) भैरव र रम्भा मन्दिर मलेङः
वि.स. २०४५ सालतिर भैरवनाथ जान नसक्ने मानिसलाई सहजताका लागि भैरव मन्दिरको स्थापना गरिएको हो । यो मन्दिरमा रोट पूजादेखि भाकल अनुसारको पूजा गर्ने प्रचलन रहेको स्थानीय पोस्कान्त तिमिल्सिनाले बताए। यस्तै रम्भादेवी मन्दिर जान नसक्ने र भाकल अनुसारको पूजा गर्नका लागि पनि स्थानीयले रम्भादेवी मन्दिर स्थापना गरेका छन् । मलेङको धारादीमा स्थापना गरिएको मन्दिरमा रमभादेवीको पुजा गर्ने प्रचलन रहेको छ । खासगरी मन्दिर जान नसक्ने भक्तजनका लागि दीशा पारेर पुजा गर्नका लागि यी दुई मन्दिरले टेवा पुगेको स्थानीयले बताएका छन् । यस्तै मलेङमै भएरथान मन्दिर समेत रहेको छ । यो मन्दिरमा स्थानीयले दुध धार दिने र पूजा आजा गर्ने गरेका छन् ।

प्रचार र संरक्षणको खाँचोः
विगतमा मन्दिर स्थापना गर्दा हुने पूजाआजा र अन्य धार्मिक कार्यमा भने पछिल्लो समय केही कमी आएको छ। धार्मिक आस्था र विश्वासका केन्द्र मानेर स्थापना गरिएको मठ मन्दिरमा पछिल्लो समय गाउँमा मानिसको बसोबास गर्नेहरु पातलिएसंगै धार्मिक कार्य पनि औपचारिकतामा मात्रै सिमति भएको छ । देश संघीय संचरनामा गएपछि साविकका नौ वडालाई जोडेर बनेको हो खानीछाप वडाभित्रका अधिकांश मन्दिरमा हुने खर्च र व्यवस्थापन स्थानीयले उठाएको भेटी र सहयोगबाटै संचालन हुँदै आएको छ ।

गाउँ नजिकको सरकार आएपनि यस्ता महत्तव बोकेका आस्थाका केन्द्रको स्तारउन्नति र खचै व्यवस्थापनमा सरकारले चासो नदिएको स्थानीयले बताएका छन् । समग्रमा हेर्दा उत्तरमा दर्लम महाकालीको तिव्र विकाससंगै पश्चिममा रामनदीधाममा रहेको सिद्धगुफामा धार्मिक पर्यटकहरुको वृद्धि भएको पाइन्छ । तर, खानीछाप भित्रका मठ मन्दिरसंगै गुडुवाखोलामा रहेको गुरु वशिष्ठ ऋषिको तपोभूमि, तीनछांगाको झर्ना भने अहिलेसम्म पनि ओझेलमा परेको छ ।

हरेक वर्ष तीनै तहका सरकारले धार्मिक पर्यटन, ऐतिहासिक सम्पदा संरक्षणलगायतका शीर्षकमा ठूलो मात्रामा बजेट विनियोजन गरेका छन् । तर, पहाड र तराईलाई जोड्ने सिद्धार्थ राजमार्गको काखैमा रहेको यो वडाका सम्पदाहरु भने लोप हुने अवस्थामा पुगेका छन् ।  संघीय संचरनापछि दुई वटा सरकारले तेतृत्व गर्दा पनि अपेक्षाककृत रुपमा विकास हुन नसकेको स्थानीयको भनाइ छ ।

स्थानीय तहबाट अन्य विकास निर्माणका योजना, शिक्षा, स्वास्थय जस्त आधारभूत क्षेत्रमा प्राथमिकता दिनुपर्ने भएको हुँदा सोचे अनुसार मठ मन्दिरमा लगानी गर्न नसकिएको वडाअध्यक्ष जित बहादुर कनौजेको भनाइ छ । मन्दिरकको ऐतिहासिक पक्ष र धार्मिक महत्वलाई समेटेर संरक्षण, पर्वधन तथा प्रचार प्रसार गरी धार्मिक पर्यटक भित्र्याउनेतर्फ सबै सरोकारवालाले सोच पुर्याउन आवश्यक देखिन्छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको