माथागढी गाउँपालिकाले  गर्याे डेढ करोड बढी राजस्व संकलन

जनतासँग माथागढी

पाल्पा । स्थानीय सरकार आर्थिक रूपमा सबल नभएसम्म गाउँठाउँको दीर्घकालीन विकास र नागरिकका अपेक्षाहरू पूरा हुन कठिन हुन्छ । यही वास्तविकतालाई आत्मसात् गर्दै पाल्पाको माथागढी गाउँपालिकाले पछिल्ला वर्षहरूमा आफ्नो आन्तरिक राजस्व संकलनलाई प्राथमिकताका साथ अघि बढाएको छ । फलस्वरूप चालु आर्थिक वर्ष २०८२/८३ मा गाउँपालिकाले हालसम्म कुल १ करोड ५१ लाख ७ हजार १५० रुपैयाँ ७२ पैसा राजस्व संकलन गर्न सफल भएको छ । गाउँपालिकाले यस वर्ष कुल १ करोड ९५ लाख ३५ हजार रुपैयाँ आन्तरिक राजस्व उठाउने लक्ष्य राखेकोमा हालसम्म ७७ प्रतिशतभन्दा बढी प्रगति हासिल भइसकेको गाउँपालिकाका लेखा अधिकृत सन्तोष दाहालले जानकारी दिए ।

यसपटक गाउँपालिकाले केही शीर्षकमा लक्ष्यभन्दा निकै राम्रो आम्दानी गरेको छ भने केही क्षेत्रमा अपेक्षाभन्दा कम प्रगति देखिएको छ । कुल संकलित राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा अन्य राजस्व तथा प्राकृतिक स्रोतको उपयोगबाट प्राप्त भएको छ ।

ढुङ्गा, गिट्टी, बालुवा जस्ता प्राकृतिक स्रोत (दहत्तर बहत्तर शुल्क) बाट ३० लाख रुपैयाँ उठाउने लक्ष्य राखिएकोमा लक्ष्य नाघेर ४० लाख ७२ हजार ९०८ रुपैयाँ आम्दानी भएको छ भने अन्य राजस्व शीर्षकबाट ४५ लाख ७४ हजार ५७४ रुपैयाँ संकलन भएको छ ।

यस्तै अन्य विधामा पनि उत्साहजनक वृद्धि देखिएको छ, जहाँ ६ लाख रुपैयाँ लक्ष्य रहेको वहाल करबाट ७ लाख ५५ हजार ४०२ रुपैयाँ र १० लाख रुपैयाँ लक्ष्य रहेको सरकारी सम्पत्तिको भाडाबाट १२ लाख ७३ हजार ९०१ रुपैयाँ उठेको छ ।

यसबाहेक भूमि कर तथा मालपोतबाट ६ लाख १६ हजार ४३७ रुपैयाँ, सिफारिस दस्तुरबाट ८ लाख २४ हजार १०० रुपैयाँ, व्यक्तिगत घटना दर्ताबाट ३ लाख ८२ हजार ३०० रुपैयाँ, व्यवसाय करबाट १ लाख ७१ हजार ४७५ रुपैयाँ र व्यवसाय दर्ता दस्तुरबाट १ लाख २७ हजार ३०० रुपैयाँ संकलन भएको छ ।

तर, केही महत्त्वपूर्ण शीर्षकहरूमा भने अपेक्षाकृत सुधार हुन सकेको छैन । ४० लाख रुपैयाँ लक्ष्य राखिएको प्रदूषण नियन्त्रण शुल्कमा हालसम्म १२ लाख रुपैयाँ मात्र संकलन भएको छ भने, ५ लाख रुपैयाँ लक्ष्य रहेको नक्सापास दस्तुरबाट ११ हजार २४४ रुपैयाँ ८५ पैसा मात्र प्राप्त भएको छ । वहाल विटौरी कर, साना सवारी साधन कर तथा मनोरञ्जन कर शीर्षकमा भने हालसम्म खाता खुल्न सकेको छैन । तथापि प्रशासनिक शुल्क र प्राकृतिक स्रोत व्यवस्थापनबाट प्राप्त उपलब्धिले समग्र राजस्व अवस्थालाई सकारात्मक मोड दिएको छ ।

गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले आन्तरिक आम्दानीमा भएको यो वृद्धि पालिका समृद्धितर्फ अघि बढेको सकारात्मक संकेत भएको बताए । आन्तरिक स्रोत बलियो हुँदा संघीय र प्रदेश सरकारबाट प्राप्त हुने कार्यसम्पादनमा आधारित अनुदान समेत थपिने हुनाले राजस्व प्रणालीलाई अझ पारदर्शी र व्यवस्थित बनाउन गाउँपालिका प्रतिबद्ध रहेको उनले स्पष्ट पारे ।

प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले आन्तरिक स्रोत बढ्नु भनेकै स्थानीय सरकारले नागरिकका आवश्यकता समयमै सम्बोधन गर्न सक्नु रहेको र यसले सेवा प्रवाह तथा विकास गतिविधिमा सीधा सकारात्मक प्रभाव पार्ने बताए । गाउँपालिकाले  राजस्वबाट हुने आम्दानी वृद्धिले स्थानीय सरकारलाई थप आत्मनिर्भर बनाउने र जनताका आवश्यकता अनुसारका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्न  सहयाेग पुग्ने विश्वास लिएकाे  छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको