तानसेन। पाल्पाको पूर्वखोला गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पूर्वखोला वडा नं. १ सामुङगा बस्ने अन्दाजी २८ वर्षीय दिमस सारु रहेको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान साढे ११ बजेको समयमा पूर्वखोला गाउँपालिका, १ तामाखानीस्थित भित्री सडक खण्डमा लुम्बिनी प्रदेश ०१, ००५ प ४०४१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा परी मोटरसाइकल चालकसमेत रहेका सारुको मृत्यु भएको हो। आफै अनियन्त्रित भएको मोटरसाइकल सडकदेखि करिब २५ मिटर तल खसेको घटनास्थल पुगेको प्रहरी चौकी जब्गादीको टोलीले जनाएको छ ।
दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको पाल्पा प्रहरीले जनाएको छ।






