निस्दी गाउँलिकाबाट सात करोड बढीको खसीबोका निर्यात

तानसेन। पाल्पाको निस्दी गाउँपालिकाबाट गत आर्थिक वर्षमा मात्रै साढे सात करोड बराबरका खसीबोका बिक्री भएको छ । आर्थिक वर्ष २०८२।८३ मा पालिकाभित्रका विभिन्न किसानले सात करोड ५२ लाख १० हजार रुपियाँ बराबरको खसीबोका बेचेका हुन् ।

गत वर्षमा विभिन्न सहकारीमार्फत पाँच हजार १४ वटा खसीबोका बिक्री भएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख ओमबहादुर मश्राङ्गीले जानकारी दिए ।

खसीबोकासँगै निस्दीबाट गत वर्ष ३१ हजार ६५९ बङ्गुरको मासु तथा ५४५ वटा बङ्गुरको पाठापाठी बिक्री भएका छन् । कृषकले बङ्गुरको मासु बिक्रीबाट एक करोड २६ लाख ६७ हजार सात सय रुपियाँ पाठापाठी बिक्रीबाट ३८ लाख १५ हजार आम्दानी गर्न सफल भएका छन् ।

निस्दीमा उत्पादन भएका खसीबोका रामपुर, कावासोती, पोखरा, बुटवल, नारायणगढमा बिक्री हुँदै आएको छ । खसीबोकाको माग अत्यधिक रहेकाले बजारको समस्या नरहेको मश्राङ्गीले बताए ।

पाँच सहकारीले खसीबोका खरिद गरी बिक्री गर्दै आएका छन् । सबैभन्दा धेरै गल्धा सामाजिक उद्यमी महिला सहकारीले बिक्री गरेको छ । सहकारीले ४९ हजार ८६२ केजी तौल बराबरको खसीबोका खरिद गरी दुई करोड ५१ लाख ३४ हजार ३८० मा बिक्री गरेको व्यवस्थापक दिलमाया सारूले बताइन्।

पशुपालन प्रवर्धनका लागि वडाहरूमा पशुप्राविधिक परिचालन, बाख्रा तथा बङ्गुरको खोर सुधार, भकारो सुधार, आवश्यक औषधि वितरण तथा उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालनसँगै व्यावसायिक पशुपालनतर्फ आकर्षण बढ्दै गएको छ । अहिले ६५ वटाभन्दा बढी व्यावसायिक पशुपालन फार्म सञ्चालनमा रहेको छ ।

निस्दी गाउँपालिकाले गत वर्ष बाख्रापालक कृषकलाई बिक्रीका आधारमा प्रतिकेजी १२ रुपियाँको दरले अनुदान उपलब्ध गराएको थियो ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको