पूर्वखोला गाउँपालिकाको समग्र प्रगति ८८.२८ प्रतिशत

तानसेन । पाल्पाको पूर्वखोला गाउँपालिकाले समग्र प्रगति ८८.२८ प्रतिशत गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले गाउँपालिकाले २०८२ साउनदेखि २०८३ असार मसान्तसम्म गरेका कामहरु तेस्रो चौमासिक सार्वजनिक सुनुवाइमार्फत् सार्वजनिक गरेका हुन् ।

पालिका कार्यालय परिसरमै राखेको सार्वजनिक सुनुवाई कार्यक्रममा एक वर्षमा गाउँपालिकाले गरेका सबै शाखाका गतिविधिहरुसमेत सार्वजनिक गरेको छ । गाउँपालिकाले प्रदान गरेको सेवा तथा सञ्चालन गरेका विकास निर्माणको बारेमा आम जनतालाई जानकारी गराउनुका साथै जनताको अभिमत बुझ्न सार्वजनिक सुनुवाई गर्दै आएको छ ।

जनताका सुझाव, प्रतिक्रिया, गुनासाहरु सुनेर आगामी दिनमा पालिकाको सेवा प्रवाहमा सुशासन, जवाफदेहिता, पारदर्शिता, उत्तरदायित्व निर्वाह गर्न पनि सार्वजनिक सुनुवाई गर्दै आएको हो । गाउँटोलमा हुने विकास निर्माणका काममा जनताको अपनत्व बढाउन पालिकाले चार÷चार महिनामा सार्वजनिक सुनुवाइ गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताए ।

पालिकाले एक वर्षको अवधिमा गरेका विभिन्न गतिविधिअन्तरगत आर्थिक वर्ष २०८२÷०८३ मा स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन तथा पूर्वाधार विकासका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको दाबी गरेको छ । गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदनमार्फत अधिकांश विकास योजना सम्पन्न भएको जनाएको छ । पछिल्लो समयमा सेवा प्रवाहमा सुधार आएको तथा सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर काम गरिएको प्रमुख प्रशासकीय अधिकृत नेपालले बताए ।

सीमित स्रोत–साधनका बाबजुद नागरिकको आधारभूत आवश्यकता पूरा गर्न स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार, सामाजिक सुरक्षा र सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकताका साथ अघि बढाइएको उनले बताए । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार सामाजिक परीक्षण र सार्वजनिक सुनुवाइमार्फत नागरिकको सुझावलाई विकास प्रक्रियामा समेट्ने अभ्यासलाई निरन्तरता दिइएको उनले बताए ।

स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले उल्लेखनीय उपलब्धि हासिल गरेको स्वास्थ्य शाखा प्रमुख तथा गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालले बताए । शसर्त कार्यक्रमतर्फ ८५.५ प्रतिशत वित्तीय तथा ९९ प्रतिशत भौतिक प्रगति भएको छ भने गाउँपालिकाको आन्तरिक बजेटतर्फ ९२.२ प्रतिशत वित्तीय र शतप्रतिशत भौतिक प्रगति हासिल भएको स्वास्थ्इ शाखा प्रमुख ढकालले बताए ।

पाल्पाका १० स्थानीय तहको स्वास्थ्य कार्यालय मूल्याङ्कनमा पूर्वखोला प्रथम स्थानमा परेको छ । स्वास्थ्य शाखाले विद्यालयस्तरमा ५७१ विद्यार्थीलाई मानसिक स्वास्थ्य तथा नसर्ने रोग सम्बन्धी सचेतना दिएको, ७३३ किशोरीको रक्तअल्पता परीक्षण गर्दा ५९ जनामा रक्तअल्पता देखिएको तथा सबै स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड कार्यक्रम सञ्चालन गरेको जनाएको छ । घुम्ती स्वास्थ्य शिविरबाट ४४७ जनाले उपचार सेवा पाएका छन् । ३९५ जनाको एचपीभी–डीएनए परीक्षण, २०५ जनाको भिआइए परीक्षण, २१ जनालाई इम्प्लान्ट सेवा तथा पाठेघर खसेका १२ महिलाको उपचार र प्रेषण गरिएको उनले बताए ।

चालु वर्षमा १५ हजार २८९ जनाले ओपिडी सेवा लिएका छन् । १७५ बालबालिकाले पूर्ण खोप पाएका छन् भने ४८ संस्थागत सुत्केरी, १३८ गर्भवतीले चार पटक गर्भ परीक्षण तथा १३९ जनाले पहिलो पटक भिडियो एक्स–रे सेवा लिएका छन् । पाँच वर्षमुनिका ६६२ बालबालिकाको पोषण परीक्षण गर्दा आठ जनामा कुपोषण भेटिएको थियो । गाउँपालिकाले १७ लाख ३० हजार रुपैयाँ बराबरको औषधि खरिद गरी निःशुल्क वितरण गरेको स्वस्थ्य शाखाले जनाएको छ ।

नसर्ने रोग नियन्त्रणअन्तर्गत ३० वर्षमाथिका २ हजार ३७८ जनाको स्वास्थ्य परीक्षण गर्दा ४०४ जनामा उच्च रक्तचाप, ७९२ जनामा मोटोपन, ९५ जनामा मधुमेह र १४९ जनामा मिर्गौला सम्बन्धी समस्या पहिचान भएको छ। त्यस्तै सबै वडामा सञ्चालित आँखा शिविरबाट १ हजार ९३ जनाको परीक्षण, ४०० जनालाई चस्मा वितरण तथा ६० जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया गरिएको शाखाले जनाएको छ ।
शिक्षा क्षेत्रमा गाउँपालिकाभित्र रहेका ३५ सामुदायिक विद्यालयमा ३ हजार २७४ विद्यार्थी अध्ययनरत रहेका छन् । अन्तिम परीक्षामा सहभागीमध्ये ९०.४८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शिक्षा शाखाले संघीय र स्थानीय स्रोत गरी ९४.६१ प्रतिशत वित्तीय प्रगति हासिल गरेको गाउँपालिकाले जनाएको छ ।

शिक्षा क्षेत्रमा शिक्षक तथा कर्मचारीको सामूहिक बीमा, शैक्षिक क्यालेन्डर निर्माण, स्थानीय पाठ्यपुस्तक ‘हाम्रो पूर्वखोला’ सम्बन्धी अभिमुखीकरण, खेल प्रशिक्षक व्यवस्थापन, अनाथ तथा अभिभावकविहीन २९ बालबालिकालाई छात्रवृत्ति, १०० छात्रालाई प्रोत्साहन छात्रवृत्ति, उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालय सम्मान, शिक्षक क्षमता विकास तालिम, विद्यालय वातावरण सुधार तथा आईसीटी कक्ष व्यवस्थापनलगायतका कार्यक्रम सञ्चालन गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिकाले जिल्ला स्तरमा १२ स्वर्ण, ९ रजत र १२ कांस्यसहित ३३ पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ भने १२ खेलाडी प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट भएका छन् । कृषि क्षेत्रमा ११२ कृषि फर्म सूचीकृत भएका छन् भने ४७ कृषक समूह दर्ता भएका छन्। कृषकलाई ६ हजार ९४४ केजी उन्नत मकैको बीउ, ५ हजार ६९५ सुन्तलाका बिरुवा, २० हजार केजी जैविक मल, ८२.१६९ मेट्रिक टन युरिया र ३८.४०७ मेट्रिक टन डीएपी मल वितरण गरिएको छ ।

सात हेक्टर क्षेत्रमा तरकारी पकेट विकास कार्यक्रम सञ्चालन गरी ४० घरधुरी लाभान्वित भएका छन् भने सुन्तला बगैँचा विस्तार कार्यक्रमबाट २०० कृषक परिवार लाभान्वित भएका छन् ।
पशु सेवा शाखाले कुल बजेटको ९७.१ प्रतिशत खर्च गरेको जनाएको छ । शाखाले ८०२ पशुको उपचार, ३६ हजार १५९ पशुलाई जुकाको औषधि, २२३ गाईभैंसीमा कृत्रिम गर्भाधान, २० हजार २७७ बाख्रामा पीपीआर खोप, ३ हजार २८५ गाईभैंसीमा खोरेत रोगविरुद्ध खोप तथा १२२ कृषकलाई पशुपालन तालिम प्रदान गरेको प्रतिवेदनमा उल्लेख छ ।

पूर्वाधार विकासतर्फ गाउँपालिकाले कुल ३४० योजना तथा कार्यक्रममध्ये ३१२ सम्पन्न गरेको जनाएको छ । १५ शय्याको अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको, गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति, स्वास्थ्य चौकी भवन, प्रशासकीय भवन, आईसीटी कक्षा व्यवस्थापन, सडक तथा खानेपानीसँग सम्बन्धित अधिकांश आयोजना सम्पन्न भएको पूर्वाधार शाखा प्रमुख लक्ष्मण न्यौपानेले बताए । केही आयोजना भने निर्माणाधीन अवस्थामा रहेका छन् ।
गाउँपालिकाले आगामी दिनमा पनि नागरिकमैत्री सेवा प्रवाह, पारदर्शिता, उत्तरदायित्व, सुशासन र समृद्ध पूर्वखोला निर्माणलाई प्राथमिकतामा राख्दै विकासका कामलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।

सार्वजनिक सुनुवाइमा सम्बोधन गर्दै पालिका अध्यक्ष नुनबहादुर थापाले जनताले उठाएका गुनासा, सुझावहरुलाई कार्यान्वयन गरिने बताए । पूर्वखोलाका गाउँपालिमा सुशासन कायम गर्न, गाउँपालिकालाई नमूना पालिका बनाउन, सबै किसिमको विकासका गतिविधिलाई अघि बढाउन, सबै नागरिक एक भएर लाग्नु पर्नेमा उनले जोड दिए ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको