तानसेन। माथागढीमा शिक्षाको गुणस्तर सुधारका लागि सञ्चालन भएको ‘सक्षम’ कार्यक्रमले निरन्तरता पाउने भएको छ । यस कार्यक्रमबाट विद्यार्थीको सिकाइ उपलब्धिमा सकारात्मक प्रभाव देखिएपछि कार्यक्रमलाई निरन्तरता दिन गाउँपालिका तयार भएको हो ।
गाउँपालिका र ब्रिटिस काउन्सिलको सहकार्यमा सञ्चालित कार्यक्रमलाई आगामी दिनमा पनि पालिकाले निरन्तरता दिने अध्यक्ष यमबहादुर चिदीले प्रतिबद्धता जनाएका छन् । सक्षम कार्यक्रम समापन समारोहमा बोल्दै अध्यक्षा चिदीले सक्षम कार्यक्रमबाट शिक्षक, विद्यार्थीमा हस्तातरण भएका अभ्यास, सीप र क्षमतालाई निरन्तर प्रयोगमा ल्याइने बताए ।
उनले प्रशिक्षित जनशक्तिलाई प्रभावकारी रूपमा परिचालन गर्न आवश्यक योजना र बजेटको व्यवस्था गरिसकिएको जानकारी दिँदै सक्षम कार्यक्रमको उपलब्धिलाई संस्थागत गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रम संचालनपछि गुणस्तरीय र जीवनोपयोगी शिक्षाको लक्ष्यअनुसार विद्यालयहरूमा सकारात्मक परिवर्तन देखिन थालेको बताए।
अध्यक्ष चिदीले बहुभाषिक परिवेशका कारण सिकाइमा देखिएका चुनौती समाधान गर्न सक्षम कार्यक्रम प्रभावकारी बनेको बताउँदै यसले शिक्षकलाई विद्यार्थीको आवश्यकता र स्थानीय सन्दर्भअनुसार शिक्षण गर्ने क्षमता विकास गरेको तथा विद्यालयमा दिगो सिकाइको वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुगेको बताए ।
प्रमुख प्रशासकीय अधिकृत धुव्र दयालले आफू भर्खर गाउँपालिकामा आए पनि सक्षम कार्यक्रमको उपलब्धिलाई जोगाउँदै यसको निरन्तरताका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले छोटो अवधिमै कार्यक्रमको सकारात्मक प्रभाव देखिएको र आगामी दिनमा यसको प्रतिफल अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे।
ब्रिटिस काउन्सिलकी कार्यक्रम व्यवस्थापक इन्दिरा बस्नेतले कार्यक्रमको दिगोपनाका लागि गाउँपालिका, विद्यालय र सरोकारवालाबीचको सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिइन् । उनले ब्रिटिस काउन्सिलले सुरु गरेको सुधारका अभ्यासलाई स्थानीय सरकारले आफ्नै कार्यक्रमका रूपमा अघि बढाए मात्र त्यसको वास्तविक उपलब्धि सुनिश्चित हुने धारणा राखिन्।
गाउँपालिकाका प्रवक्ता शंकर दर्लामीले विगतमा स्पष्ट योजना र दीर्घकालीन सोचको अभावमा शिक्षा क्षेत्रमा अपेक्षित उपलब्धि हासिल गर्न कठिन भएको स्मरण गर्दै अहिले विद्यालयसँग योजना, तालिमप्राप्त शिक्षक र सुधारका आधार तयार भइसकेकाले आगामी दिनमा गाउँपालिकाको समग्र शिक्षा क्षेत्रमा गुणात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा स्थानीय प्रशिक्षक तथा ब्रिटिस काउन्सिलका माथागढी संयोजक लोकेन्द्र थापाले माथागढीका गाउँपालिका र ब्रिटिस काउन्सिलको सहकार्यमा सम्पन्न भएका कार्यहरुको प्रस्तुती गरेका थिए ।
यस्तै प्रशिक्षकहरू राजन अधिकारी, शोभा भट्टराई र नारनबहादुर मसराङ्गीले सक्षम कार्यक्रममार्फत प्राप्त अनुभव, सिकाइ र विद्यालयमा भएका परिवर्तनका बारेमा धारणा राखेका थिए ।
समापन समारोहमा दिव्यज्योति माध्यमिक विद्यालय, माउन्ट भ्याली बोर्डिङ स्कुल, सिद्धार्थ माध्यमिक विद्यालय, सहारादेवी आधारभूत विद्यालय र ज्ञानोदय आधारभूत विद्यालयका विद्यार्थीहरूले तयार गरेका ‘सोसल एक्सन प्रोजेक्ट’ प्रस्तुत गरेका थिए । कार्यक्रममा सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ३ का वडाध्यक्ष तेज घर्तीमगरले स्वागत मन्तव्य राख्नुभएको थियो भने शिक्षा शाखा प्रमुख प्रकाश पाठकले कार्यक्रम सञ्चालन गरेका थिए ।






