तानसेन । कुमारी बैंक लिमिटेडको बर्तुङ्ग विस्तारित काउन्टर र पाल्पा शाखाले ‘परिवार सुरक्षा बचत खाता’ अन्तर्गतको बीमा सुविधा बमोजिम लाभग्राहीलाई बीमा दाबी रकम हस्तान्तरण गरेको छ। तानसेन नगरपालिका वडा नं- ७ बैसीधारा नमुना टोल निवासी सुनिता पौडेलका श्रीमान अशोक पौडेलको दुःखद दुर्घटनामा निधन भएपछि सो रकम हस्तान्तरण गरिएको हो।
खातासँग सम्बन्धित बीमा दाबी प्रक्रिया पूरा भएपछि कुमारी बैंकको बर्तुङ्ग विस्तारित काउन्टरले पौडेललाई १० लाख रुपैयाँ बराबरको बीमा रकम हस्तान्तरण गरेको छ। उक्त रकमले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा आर्थिक सहारा पुग्ने विश्वास काउन्टर इन्चार्ज विष्णु भट्टराईले व्यक्त गरे।
बीमा दाबी बापतकाे रकम बुझ्दै पाैडेलले श्रीमानकाे मृत्यपछि पारिवारिक खर्च चलाउन याे रकमले ठूलाे टेवा पुग्ने विश्वास लिएकाे बताइन् ।
कुमारी बैंकले ग्राहकहरूको वित्तीय सुरक्षा तथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनाहरूसँग आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ। परिवार सुरक्षा बचत खाता अन्तर्गत प्रदान गरिने बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहत उपलब्ध गराउनुका साथै भविष्यको आर्थिक सुरक्षाको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने बैंकको अपेक्षा छ।
विगत २५ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले हाल देशभर फैलिएका २८५ शाखा, ४१ विस्तारित काउन्टर, ४० शाखा रहित बैंकिङ्ग बिन्दु र ३०२ एटिएम मार्फत ग्राहकहरूलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।






