तानसेन। बिहीबार बिहान ११ बजेतिर सुख्खा पहिरो खसेपछि अवरुद्ध भएको सिद्धार्थ राजमार्ग संचालनमा आएको छ । उक्त राजमार्गको तानसेन बुटवल सडक खण्ड अन्तरगत गौडेपुल नजिकै सुख्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय पाल्पाको पहलमा पहिरो पन्छाएर सवारी आवागमन सुरु भएको हो ।
दिउँसोसम्म पनि सुख्खा पहिरो खस्ने क्रम जारी रहँदा पहिरो पन्छाउन समस्या भएको प्रहरीले जानकारी दिएको छ । बेलुकासम्म पहिरो पन्छाएर एकतर्फी रुपमा सवारी पास गराइएको हो । राजमार्ग अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारीसाधन दुवै तर्फ रोक्किएका थिए । दिउँसो एक पटक सवारी पास गराएर पुनः पहिरो पन्छाइएको प्रहरीले जनाएको छ ।
उक्त स्थानमा अन्य समयमा समेत स साना ढुंगा खस्ने समस्या रहदै आएको छ । रातभर पानी परेर बिहान घाम लागेपछि सुख्खा पहिरो खसेको थियो । पहिरोका कारण रोकिएका सवारीहरु गन्तव्यमा लागेका छन् ।
यो राजमार्गलाई तराई र पहाड जोड्ने राजमार्गका रुपमा लिने गरिन्छ । यो राजमार्ग भएर तराईका जिल्लाहरु रुपन्देही, कपिलवस्तु र नवरपासरी हुँदै पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, बाग्लुङ्गलगायतका जिल्लासम्म सवारी संचालन हुँदै आएका छन् ।






