गुल्मीमा लगातार बेवारिसे भरुवा बन्दुक फेला

गुल्मी । गुल्मीमा पछिल्लो केही दिनयता लगातार बेवारिसे अवस्थामा भरुवा बन्दुक तथा घरेलु हतियार फेला पर्न थालेका छन् । पछिल्लो पटक जिल्लाको  मदाने गाउँपालिका वडानम्बर–२ बाँझकटेरीको उर्लाबारीचौरमा ढुङ्गाको बीचमा लुकाइछिपाइ राखेको अवस्थामा प्रहरीले एक थान बेसाबुत भरुवा बन्दुक बरामद गरेको छ ।

साउन २२ गते साँझ गस्तीमा खटिएको प्रहरी टोलीले उक्त बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) वीरेन्द्र वीर विश्वकर्माले बताए ।

यसअघि साउन १९ गते रेसुङ्गा नगरपालिका वडानम्बर–२ धागिथुममा प्लास्टिकको सेतो बोरामा राखिएको एक थान भरुवा बन्दुक तथा रुरुक्षेत्र गाउँपालिका वडानम्बर–४ बलेटक्सारको मुसीडाँडामा पानी ट्याङ्की नजिकबाट एक थान भरुवा बन्दुकसहित बारुद, छर्रा र क्याप बरामद गरिएको थियो ।

त्यसैगरी असार ३१ गते रेसुङ्गा नगरपालिका वडानम्बर–१० देउराली–सिमिचौर सडकखण्डमाथिको झाडीमा रातो फाइबरको झोलाभित्र राखिएको अवस्थामा एक थान घरेलु भरुवा पेस्तोलसमेत फेला परेको थियो ।

यसरी पछिल्लो केही समयमै गुल्मीका विभिन्न स्थानबाट चार थान बेवारिसे हतियार बरामद भएका छन् । प्रहरीले बरामद हतियारबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको