लुम्बिनीमा थपिए तीन मन्त्री, आज बुटवलमा हुँदै छ शपथ

तानसेन। लुम्बिनी प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले आज (मङ्गलबार) पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले सोमबार दीपेन्द्रकुमार पुन (सिजल) लाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णा कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा नियुक्त गरेका थिए ।

नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ प्रदेश प्रमुखको कार्यालय, बुटवलमा मंगलबार दिउँसो ३ः२५ बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिच सत्ता सञ्चालनका लागि गठबन्धन बनेपछि मुख्यमन्त्री आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

सोही आधारमा नेकपाबाट नवनियुक्त मन्त्रीहरू सरकारमा सहभागी भएका हुन् । नेकपाबाट मन्त्रीहरू सरकारमा सहभागी भएपछि प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।

यसैबिच प्रदेश सरकारले यसअघि नियुक्त भएका मन्त्रीहरूको जिम्मेवारीसमेत हेरफेर भएको छ। तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोषकुमार पाण्डेयलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने सिफारिस गरिएको छ ।

यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा रहनुभएका तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

त्यस्तै, सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका सन्तोषकुमार पाण्डेयलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको