तानसेन। काठमाडौं उपत्यकाबाट बसाई सरी आएका नेवार समुदायले मनाउन सुरु गरेको गाईजात्रा पाल्पामा भने सबै जातजाती मनाउने गरेका छन् । यो वर्ष पनि एक वर्षभित्र दिवङ्गत भएका आफन्तलाई सम्झना र बैकुन्ठबासको कामना गर्दै यो पर्व मनाइएको छ । जिल्ला सदरमुकाम तानसेनसहित नेवार समुदायको बसोबास रहेका बस्तीहरुमा गाईजात्रा मनाइएको हो।
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराई श्रद्धालुद्वारा दुध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरेर गाई जात्रा पर्व मनाउने गरिन्छ।
नेवार समुदायले मनाउन सुरु गरेको यो पर्वलाई पाल्पामा भने सबै जातजातिले उत्साहकासाथ मनाउदै आएको इहिासका जानकार निर्मल श्रेष्ठले जानकारी दिए। मृत्यु गणनाका रुपमा मनाइने यो पर्वमा पाल्पाका धेरै समुदायको सहभागिता रहेको उनले बताए।
गाइजात्रा निकाल्नाले वर्षभरी मृत्यु भएका आफन्तहरु गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ । यही विश्वासका कारण नेवार समुदायले सुरु गरेको गाई जात्रा मनाउन सबै समुदाय एकजुट भएको तानसेन ५ का लक्ष्मण रावलले बताए ।
गाइजात्रालाई वर्ष भरमा मृत भएका मानिसहरुको गणना गर्ने पर्वका समेत लिने गरिन्छ । सबै समुदायले गाईजात्रा निकाल्ने प्रचलनले समाजमा भातृत्वको सन्देश प्रवाह हुँदै आएको पाइन्छ ।
गाईजात्रा पर्व मनाउनका लागि तानसेन नगरपालिकाले सार्वजनिक बिदा समेत दिएको थियो ।





















