रैनादेवी छहरा गाउँपालिका:एक गाग्री पानीका लागि हप्तामा पालो

पाल्पा । रैनादेवी छहरा गाउँपालिका–३,भुवनपोखरीको गोखुङ्गा पधेरामा एक गाग्रीको पानीका लागि हप्तामा पालो कुहुर्न बाध्य बनेका छन् ।गर्मीले खानेपानीका मुहान सुकेपछि स्थानीयबासिन्दा एक गाग्री पानीका लागि एक हप्तासम्म पालो कुहुर्नुपर्ने समस्या खेपेका छन् ।  गर्मी बढेपछि खानेपानीका मुहान सुकेपछि यहाँका स्थानीयबासिन्दा खानेपानीका लागि एक हप्तामा एक घरले एक गाग्री पानी पाइन्छ ।

पश्चिम पाल्पाको भुवनपोखरीको गोखुङ्गामा ६० घर दलित बस्ती छ । दलित बस्तीले उपभोग गर्ने खानेपानीको मुहान एउटा मात्रा रहेको छ । वर्षातको पानी संकलनका लागि सबैका घरमा घैटा छन् । तर, यसपालिका घैटाका पानी माघ फागुनमा सकिएपछि खानेपानीको पिरलोमा दिनरात कटाउनुपर्ने बाध्यता गणतन्त्र आइसक्दासम्म हटेको छैन ।

यसपालिका प्रशस्त वर्षात हुन नसकेकोले आकाशेपानी सकिएपछि यहाँका दलित समुदायमा पानीका लागि मुहानको खोजीमा दिनभर खर्चिन बाध्य हुनुपरेको गुनासो छ ।रैनादेवी छहरा गाउँ कार्यापालिका सदस्य तथा स्थानीयबासिन्दा गोपाल परियारका अनुसार हप्ता एक गाग्री पानी ल्याउन त्यहा जाने हो । “जहाँ पानी लिन जादा १५ मिनेट ओरालो हिड्नुपर्छ, फर्किदा उकालो छ । बढी समय लाग्छ । पानीको समस्या बढेपछि पानीकै खोजी दिनहरु पानीको मुहानमा बिताउन पर्छ,” परियारको भनाई छ ।

हप्तामा एक गाग्री पानीले परिवारका लागि अपूग हुने भएपछि यहाँका स्थानीयबासिन्दाहरु तीन घण्टा लगाएर एक गाग्री पानी बोकेर ल्याउन बाध्य बनेका छन् । विहान ५ बजे पानी ल्याउनका लागि हिडेका पधेरीहरु ८ बजेतिर घरमा पाइला टेक्छन् । “पानीका मुहान रहेका क्षेत्रहरु पानी बोकेर फर्किदा उकालो हिड्नुपर्छ । भुवनपोखरीको कमेरे, मेहालपानी, सिमलडाडा, खानतुङ लगायतका स्थानबाट पानी ल्याउनुपछ,” परियारको भनाई छ । केही स्थानीयबासिन्दा पेलाबाँसको बस्तीबाट पानी मागेर ल्याउने गर्दछन् । पेलाबाँसमा लिफ्टबाट पानी सबैका घरमा ल्याएका छन् ।
पानीका कारण बालबालिकाहरु नियमित विद्यालय जाने अवसरबाट बञ्चित हुनुपरेको स्थानीयबासिन्दाको गुनासा रहेका छन् । डाडामा बस्ती रहेकोले पानीको समस्या वर्षौदेखि रहेपनि यहाँको खानेपानीको समधानमा कसैको चासो नपुग्दा समस्या हटेको छैन ।

यो बस्तीलाई लक्षित गरी आरखोला, रैनादेवी, दलित बस्ती खानेपानी आयोजनाको काम सञ्चालनमा आएको छ । आयोजनाको काम निकै सुस्त गतिमा अघि बढ्दा उपभोक्ताले खानेपानीको लागि हैरानी भोग्न बाध्य छन् ।  लामो समयदेखि खानेपानीको समस्या रहेको क्षेत्रमा खानेपानी पानीको समस्या समधान पहल नहुँदा वर्षौदेखि पानीका अभाव बस्तीबाट विस्थापित हुनुपरेको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको प्रसिद्द धार्मिक तथा पर्यटकीय रैनादेवी क्षेत्र बस्तीसँग जोडिएको छ ।

जहाँ पानीको अभावले पर्यटक आगमनमा समस्या देखिएको स्थानीयबासिन्दाले पटक पटक सरोकारवाला निकायलाई सुनाउने काम भएपनि खानेपानी समस्या नहटेको स्थानीय चिन्तित देखिन्छन् ।  लामो खडेरीका कारण पहाडी जिल्ला पाल्पामा खानेपानीको समस्यामा स्थानीयबासिन्दा पिरलिएका छन् ।

डाडा तथा लेखमा बस्ती रहेका उपभोक्ताका लागि उकालोमा पानी बोकेर खानुपर्ने बाध्यता नहटेकोमा स्थानीय सरकार, प्रदेश र संघीय सरकार महशुस गर्न नसकेको गुनासो छ । आर्थिक रुपमा विपन्न समुदाय बसोबास गर्ने दलित बस्तीमा अझै पनि सरोकारवाला पक्षको वेवास्ताले नागरिकहरु पानीका लागि सास्त्री भोग्न बाध्यता रहेको गुनासो छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer