रुख काट्नेलाई छुटाउन कसरत

पाल्पा । पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं. ७ बल्ढेङगढीस्थित ढाबमा सालका दुई सय ७२ वटा सालका रुख काट्ने स्थानीयलाई छुटाउन सामुदायिक वन उपभोक्ता महासंघ पाल्पाले आईतबार तानसेनमा विरोध सभा गरेको छ ।

विद्युत विस्तार गर्दा पोल तथा तार बिछ्याउने रुटभन्दा बाहिरका सालका रुखहरु काटेपछि जिल्ला वन कार्यालय पाल्पाले स्थानीयमध्ये चार जनालाई पक्राउ गरी हिरासत पठाएको थियो । २५ दिन अघि पक्राउ परी हिरासतमा रहेका ती चारजनालाई न्यूनतम धरौटीमा छुटाउने रणनीति अनुरुप महासंघले तानसेनमा बिरोध सभा गरेको हो ।

बिरोध समाभा बोल्दै महासंघका केन्द्रीय सदस्य कृष्ण श्रेष्ठले स्थानीय स्रोतमाथि समुदायलाई अधिकार दिनुपर्ने भन्दै रुख काट्नेहरुलाई कारवाही नगर्न आग्रह गरे । टेलिफोन जिज्ञासामा पनि श्रेष्ठले भने, ‘हामी पनि बन जोगाउने मान्छे हौं तर रुख काट्ने सोझा जनतालाई भन्दा उक्साउनेलाई कारवाही गरिनुपर्छ ।’ कार्यक्रममा महासंघका जिल्ला अध्यक्ष निरन्जन भूसाल तथा वल्ढेङगढीका स्थानीय अगुवा पुरन लम्तरीले पनि पक्राउ परेका ब्यक्तिलाई निशर्त रिहाई गर्न माग गरे ।

जिल्ला वन कार्यालय पाल्पाले यसअघि स्थानीय मिनबहादुर पुन, चित्रबहादुर कुमाल, हुमबहादुर सारु र टोमबहादुर कुमाललाई पक्राउ गरी हिरासत पठाएको थियो । उनीहरुको आईतबारदेखि जिल्ला अदालत पाल्पामा बयान शुरु भएको छ ।

समाचारस्रोतका अनुसार अदालतले २५ लाख रुपैयाँ धरौटी माग गर्ने तयारी गरेपछि न्यूनतम कारवाहीको लागि चलखेल गर्न महासंघले पाल्पामा विरोध सभा गरेको हो ।

विरोध सभाको लागि रुख काटिएको स्थल जावुने सामुदायिक वन जोगदमार र चन्द्राकार सामुदायिक वन ढाबका दुई गाडी मानिस लिएर वडाका वडा सदस्य सुर्यबहादुर कार्की तानसेन पुगेका थिए । कार्की ढाबका अगुवा जनप्रतिनिधि हुन् ।

केही स्थानीय जनप्रतिनिधि र काठ तस्करहरुको उक्साहटमा यति धेरै संख्यामा रुख काटिएको अनुमान गरिएको छ । रुख काट्न उक्साउनेलाई पनि कारवाही गरिनुपर्ने स्थानीयको माग छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer