काठमाडौँ -राष्ट्रिय सतर्कता केन्द्रले पाल्पाको ऐतिहासिक रानीमहलको ३० रोपनीभन्दा बढी जग्गा व्यक्तिका नाममा गरिएको भन्दै थप अनुसन्धान गरी दोषीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको छ ।

पाल्पाको खानीगाउँस्थित रानी महलका जग्गाको कित्ताकाट गरी व्यक्तिको नाममा दर्ता गर्ने काम भएको भन्दै परेको उजुरीमाथि छानबिन गरी सतर्कता केन्द्रले तयार पारेको प्रतिवेदनमा ऐतिहासिक महत्त्वको जमिन भूमाफियाबाट मिचिएको उल्लेख छ ।

केन्द्रको छानबिनले रानीमहलको कित्ता नं १६६ को १५ रोपनी ५ आना जग्गा नापी विभागको केन्द्रीय नक्सामा कित्ताकाट नभएको देखाएको छ । तर नापी कार्यालय पाल्पाको नक्सामा भने कित्ताकाट भएको देखिएको छ । ‘कसरी कुन प्रमाणका आधारमा कित्ताकाट भएको हो र सो नामसारी गर्दा के, कुन प्रमाणका आधारमा नामसारी भएको हो ?’ केन्द्रको प्रतिवेदनमा भनिएको छ, ‘प्रमाण खुल्ने कागजात नदेखिएको हुँदा सो कार्य कानुनसम्मत भयो भन्न सकिएन । तसर्थ यसमा थप अनुसन्धान गर्नुपर्ने देखियो ।’

रानीमहलको कित्ता नं ४६६ को १७ रोपनी १० आना जमिन नक्सामा पेन्सिलले कित्ताकाट गरेर स्थानीय भूमाफियाले हडप्ने प्रयास गरेको पनि सतर्कता केन्द्रको खोजीले देखाएको छ । जनरल खड्गशमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा पाल्पामा १९५० सालमा बेलायती इन्जिनियरद्वारा युनानी शैलीमा बनाएको रानीमहल नेपालको ताजमहलका नामले प्रसिद्ध छ । महलको रेखदेख र सञ्चालनका लागि खड्गशमशेरले रानीघाट गुठी, शिवालय गुठी र खड्गभक्तेश्वर गुठीको स्थापना गरी त्यसअन्तर्गत दरबार वरपरका जग्गा राखिदिएका थिए ।fगुठीका ती जमिन गुठी संस्थानलाई नै नसोधी र लगतसमेत नभिडाई जिल्ला मालपोत कार्यालय पाल्पाले व्यक्तिका नाममा दर्ता गरेको समेत सतर्कताको अनुसन्धानले देखाएको छ ।

यसरी रानीमहलका जग्गा हडप्ने र किर्ते गरी कागज मिलाउने भूमाफिया तथा तिनलाई साथ दिने मालपोत कार्यालयका तत्कालीन अधिकारीमाथि थप छानबिन गर्न केन्द्रले अख्यिारलाई लेखी पठाएको हो ।

तपाईको प्रतिक्रिया