तिनाउ गाउँपालिकाले दलित समुदायको परम्परागत पेशालाई आधुनिकीकरण गर्न विद्युतीय पङ्ख वितरण

पाल्पा । तिनाउ गाउँपालिका क्षेत्रभित्रका दलित समुदायको परम्परागत पेशालाई आधुनिकीकरण गर्नका लागि कपडा सिलाउने मेसिन, कृषि औजार उत्पादनका गर्ने विद्युतीय पङ्ख वितरण गरेको हो ।

तिनाउ गाउँपालिकाको करिब दुई लाख आर्थिक सहयोगमा दलित समन्वय समितिले दलित समुदायको क्षमता अभिवृद्धि कार्यक्रम अन्तरगत गाउँपालिका क्षेत्रभित्रका ९ जनालाई कपडा सिलाउने मेसिन, १२ जनालाई पङ्ख वितरण गरिएको हो ।

गाउँपालिकाक अध्यक्ष ओम बहादुर घर्ती मगरले मिसन हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्दै दलित समुदायका परम्परागत पेशालाई आधुनिकीकरण गर्न खाँचो रहेको बताए । परम्परागत पेशालाई आधुनिकीकरण गर्न गाउँपालिकाले सहयोग गर्ने र त्यस्ता पेशाबाट स्वरोजगार रोजगार सिर्जना गर्न आवश्यक रहेको अध्यक्ष घर्तीले बताए ।

गाउँपालिकाका प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुले सीप हुने मानिसहरु आर्थिक रुपले सम्पन्न हुने बताए । दलित समुदायमाथि कुनै प्रकार भेदभाव गर्न कानुनी रुपमा नभएको बताए ।

गाउँपालिका प्रवक्ता राजेश श्रेष्ठले दलित समुदाय आर्थिक रुपमा पछाडि रहेकोले आयआर्जनका लागि सामाग्री वितरण गरिएको बताए । दलित समुदायका पेशालाई थप आधुनिकीकरण गर्न खाँचा रहेको श्रेष्ठको भनाई छ ।

परम्परागत ज्ञान, सीप र क्षमताको अभिवृद्धि गरी स्थानीय स्तरमा नै स्वरोजगार बनाउनका लागि समितिले सामाग्री वितरणमा लागेको हो । आर्थिक रुपमा विपन्न समुदायले सामाग्री पाएपनि स्थानीय स्तरमा दुई चार पैसा कमाउन सहज हुने समितिका अध्यक्ष मोहनलाल विश्वकर्माले बताए ।

मेसिन पाउनेहरुमा ः तिनाउ गाउँपालिका–१ बाट देवीकला परियार, र गिता विक, २ बाट अमृता दर्जी र बुद्ध परियार, ३ बाट प्रकाश सुनार, ५ बाट सरस्वती बि क र शान्ति बिक, ६ बाट मन दर्जी र विष्णु बि क रहेका छन् ।

आरन पाउनेमा मीन बहादुर बिक, शेर बहादुर बिक, लक्ष्मण बिक, टोप बहादुर बिक, धन बहादुर बिक, सोम बहादुर बिक, धन बहादुर बिक, कमल बिक, गंगा बहादुर बिक, खेम बहादुर बिक, मीन बहादुर बिक र प्रेम बहादुर बिक रहेका छन्।

दलित समुदायको क्षमता अभिवृद्धि, सम्मान कार्यक्रमको सहजीकरण पत्रकार कृष्ण दर्नालले गर्नुभएको थियो । कार्यक्रममा तिनाउ गाउँ कार्यपालिका सदस्य चुरा बहादुर विश्वकर्मा, दलित वडा सदस्यहरुलाई सम्मान गरिएको छ ।

तपाईको प्रतिक्रिया