
पाल्पा । पश्चिम नेपाल बस व्यवसायी प्रालीले टिकट काउण्टरहरुमा यात्रुहरुको तापक्रम मापन गरेर मात्र टिकट काट्ने व्यवस्था मिलाएको छ ।
पछिल्लो समय विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमणलाई रोकथाम गर्नका लागि सबै टिकट काउन्टरमा यात्रुहरुलाई तापक्रम मापन गर्ने व्यवस्था गरिएको प्रालीले जनाएको छ ।
प्रालीले आईतबारदेखि सेवा संचालनमा रहेका सडक खण्डहरुका टिकट बुकिङ काउण्टरहरु बेलहिया, भैरहवा, बुटवल, तौलिहवा, कृष्णनगर, परासी, महेशपुर, तानसेन, तम्घास र सन्धिखर्कमा आफ्नै लगानीमा उपकरणबाट यात्रुहरुको तापक्रम मापन गर्ने व्यवस्था गरेको जानकारी दिएको छ ।
कोरोना भाईरसको संक्रमणको त्रासको कारण सरकारले बढि भिडभाड हुने कार्यक्रम नगर्न र भिडभाडमा नजान आग्रह गरिहंदा यसको प्रभाव यातायात क्षेत्रमा पनि पर्ने भएको हुदाँ तापक्रम मापन गरेर मात्र यात्रुलाई सवारीमा आवतजावत गर्ने व्यवस्था मिलाएको प्रालीका अध्यक्ष दधिराम खरेलले बताए ।
एकजना संक्रमितबाट सवारी साधनमा रहेका अन्य यात्रुहरुको समेत स्वास्थ्य जोखिममा रहने भएको र सरकारले विभिन्न स्थानमा तापक्रम मापन गर्ने व्यवस्था गरिरहेको अवस्थामा आफुहरुले पनि टिकट काउण्टरहरुबाट शुरुवात गरिएको प्रालीले जनाएको छ ।