पाल्पा । पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचारत तीनजना मध्ये दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा पूर्वखोला गाउँपालिका १ सिलुवाका २३ वर्षीय पुरुष तथा गुल्मीको रूरू गाउँपालिका १ का ३२ वर्षका पुरूषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए।
उनीहरु दुवैजना तानसेनस्थित लुम्बिनी मेडिकल कजेलमा उपचाररत रहेका न्यौपानेले बताए । सिलुवाका पुरुष भने जेठ २० गते मृत्यु भएका ४५ वर्षीय पुरुषसंगै भारतबाट आएका थिए ।
उनीसंगै आएका अर्का एकजनामा भने कोरोना नेगेटिभ देखिएको पूर्वखोला गाउँपालिकाका स्वास्थ्य संयोजक मोहन ढकालले बताए । उनीहरुको स्वास्थ्य समस्या देखिएपछि जेठ २२ गते थप उपचारका लागि मेडिकलमा पठाईएको स्वास्थ्य संयोजक ढकालले जानकारी दिए ।
यस्तै गुल्मीका एक जना ६७ वर्षीय पुरुषको उपचारका क्रममा लुम्बिनी मेडिकल कजेलको आइसोलेशन कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
गुल्मीको मालिका गाउँपालिका ३ का ६७ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा. राजु शाक्यले जानकारी दिए ।
आइतबार उपचारका लागि अस्पताल आएका बिरामीमा श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने जस्ता समस्या देखिएपछि आइसोलेशन कक्षमा उपचारका क्रममा मृत्यु भएको र उनको पिसिआरको नतिजा आउन बाकी रहेको डा. शाक्यले बताए।
पाल्पाको सिलुवामा मृत्यु भएका पुरुषसंगै आएका ४१ मध्यका ३९ जनाको स्वाव परीक्षण भोलीदेखि गरिने तयारी भएको गाउँपालिकाले जनाएको छ । पाल्पामा यसअघि ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने एक जनाको मृत्यु भएको छ ।
संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको आइसोलेशनमा उपचार हुँदै आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।