पाल्पामा कोरोना संक्रमित संख्यामा कमी, निको हुने बढे

पाल्पा । जिल्लाको तानसेनस्थित भुषलडाँडा माविमा निर्माण गरिएको आइसोलेशनमा रहेका सबै अर्थात ५० जनाले कोरोना जितेर घर फर्किएका छन ।

योसंगै पाल्पामा कूल ३ सय ५३ जना कोरोना भाइरस जितेर घर फर्केका छन् । चारवटा स्थानीय तहले संयुक्त रुपमा संचालनमा ल्याएको सो आइसोलेशनका सबैमा संक्रमण पुष्टि भएको १५ दिन भएको हुँदा स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार एक साता घरमै सेल्फ क्वारेन्टिनमा बस्नेगरि बिधाई गरिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

जिल्लाभरका कूल ५ सय ५० संक्रमित मध्ये १ सय ९७ जना मात्रै आइसोलेशनमा रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यायका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए।

कोरोना भाइरस जितेर घर फर्किनेहरुमा सबै भन्दा धेरै रामपुर नगरपालिकाका १ सय ६ जना, निस्दी गाउँपालिकाबाट ९५ जना रहेका छन् ।

यस्तै माथागढी गाउँपालिकाका २७, पूर्वखोलाका ३४, रैनादेवी छहराका २०, रम्भाका २५, बगनासकाली गाउँपालिकाका २६, तानसेन नगरपालिकाबाट ६, रिब्दीकोट र तिनाउ गाउँपालिकाका चार/चार, पाल्पामा उपचाररत स्याङ्जा र गुल्मीका एक/एक र अघाँखाचीका दुई जना निको भएर घर फर्केका छन् ।

हाल जिल्लामा संक्रमितहरु थपिनेक्रम कम भएको र निको भएर घर फर्किनेको संख्या बढेसंगै लकडाउन खुकुलो भएको छ । जस्का कारण जिल्ला सदरमुकाम तानसेनसहित स्थानीय बजारहरुमा मानिसहरुको चहलपहल समेत बढेको छ ।

तपाईको प्रतिक्रिया