
कृष्ण दर्नाल
पाल्पा । पाल्पाकाे रम्भा गाउँपालिकाले कक्षा ८ सम्मका बालबालिकालाई दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएपछि विद्यार्थीहरु नियमित रुपमा कक्षा कोठामा उपस्थिति हुन थालेसँगै कक्षा ८ सम्म यो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
रम्भाका शिक्षा शाखा संयोजक काशीराम बस्यालले कक्षा ५ सम्ममा सञ्चालित खाजा कार्यक्रम यस आर्थिक वर्षदेखि कक्षा ८ सम्मका बालबालिकालाई यो सुविधा प्रदान गरिएको बताए ।
संघीय सरकारको सहयोगमा कक्षा पाँचसम्म सञ्चालनमा रहेको यो कार्यक्रम गाउँपालिकाले लगानीमा कक्षा ८ सम्म सञ्चालनमा आएको संयोजक बस्यालले बताए ।
खाजा कार्यक्रमले विद्यार्थीलाई नियमित रुपमा उपस्थिति गराउन र शिक्षक विद्यार्थी बीच सम्वन्ध अझै नजिक हुँदै गएको छ ।
बालबालिकाहरु नियमित रुपमा उपस्थिति हुने र कक्षा छाडने दर न्यून भएको बस्यालको दावी छ । कक्षा पाँचसम्मका लागि २० लाख र कक्षा ६ देखि ८ सम्मलाई १० बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष विष्णु भण्डारी बताए ।
तिनाउँ गाउँपालिकामा खाजाले विद्यार्थी नियमित
रुपन्देही जिल्लाको बुटबल उपमहानगरपालिकासँग जोडिएको पाल्पाको तिनाउ गाउँपालिकाले दिवा खाजा कार्यक्रम सञ्चालन गरी सबै बालबालिकालाई विद्यालयमा नियमित गराउन थालेको छ । गाउँपालिका स्तरीय शिक्षा समितिका सदस्य चक्रव्यूह थापाले दिवा खाजा कार्यक्रमले विद्यार्थी संख्या बढेको बताए ।
शिक्षक र विद्यार्थी बीच अन्तरक्रिया बढदो मात्रा रहेको उनीहरु बीच पनि सम्वन्ध सुमधुर हुँदा शिक्षण सिकाई प्रक्रिया समेत प्रभावकारी बनेको सदस्य थापाको भनाई छ । स्थानीय स्तरमा उत्पादित पोषणयुक्त खाजा खान विद्यार्थीहरुमा स्वास्थ्यका दृष्टिकोण फाइदाजनक रहेको छ ।
रैनादेवीमा सक्रियता
रैनादेवी छहरा गाउँपालिका ५ मुझुङ्गस्थित कालिका माविका प्रधानाध्यापक जनार्दन पोखरेलले दिवा खाजाले बालबालिकामा अल्छीपन नहुने हुदाँ शिक्षण सिकाई प्रक्रियामा उत्साहका साथ सक्रियता रहने बताए ।
पोषणयुक्त आहाराका कारण शारीरिक रुपमा समेत स्वच्छ रहन्छन् । नीजि र सरकारी स्कुल बीचको समनता रहेका प्रअ पोखरेलको दावी छ । दिवा खाजा कार्यत्रक्रम सञ्चालनपछि विद्यालयमा विद्यार्थीको सख्या उत्साहजनक रहेको छ ।
शिक्षा समिति सदस्य थापाका अनुसार ५ वर्षमुनिका बालबालिकालाई यो सुविधाका लागि बजेट व्यवस्थापन भएको छैन । जसका कारण व्यवस्थापनमा समस्या रहेको उहाँको दावी छ ।
प्रावि तहका बालबालिका भन्दा बालशिक्षामा दिवा खाजापछि विद्यार्थीको आकर्षण बढ्दो रहेको छ । कोरोना संक्रमणपछि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दा व्यवस्थापनमा समस्या देखिएको छ । शहरी क्षेत्रमा बसोबास गर्ने परिवारहरु गाउँतर्फ फर्केपछि विद्यालयमा विद्यार्थीको सख्या बढेको थापाको दावी छ ।