
तानसेन । निषेधाज्ञा खुकुलो भएसंगै पाल्पामा कोरोना संक्रमण फेरि उकालो लागेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै थप ११५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यस्तै बुधबार एकैदिन ७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताए ।
संक्रमण घट्दा ४ सयमा झरेको सक्रिय संक्रमितको संख्या फेरी बढेर अहिले ५७६ जनामा पुगेको सूचना अधिकारी पन्थीले जानकारी दिए ।
अहिले पसलहरु खुलेको र मेलापालमा धेरै मानिसहरु घुलमिल हुँदा गाउँगाउँमा लक्षणसहितका बिरामी बढेको स्वास्थ्य कार्यालयले जनाएको छ । परीक्षणको दायरा बढेमा अझै संक्रमित बढ्ने सम्भावना रहेको स्वास्थ्य विज्ञहरुको भनाई छ ।
हाल थपिएकामा सबैभन्दा धेरै रिब्दीकोट गाउँपालिकाका ८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।