पाल्पा । तिनाउँ गाउँपालिका क्षेत्र भित्र रहेका चुनढुंगा खानीले राज्यलाई राजश्व छली गरी निकासी गर्नु गलत भएको जनाएको छ ।

राज्यलाई कर नबुझाउने र प्राकृतिक दोहन गरी विपत निम्ताउने कार्य प्रति वाइसियल तिनाउ गाउँकमिटिले आपक्ति जनाएको हो । खानीबाट चुनढुंगा अव्यस्थित निकासीले त्यस क्षेत्रका सर्वसाधारण नागरिकलाई उठीबाँस हुने स्थिति सिर्जना भएको छ ।

वाइसियल तिनाउले तानसेनमा आयोजित पत्रकार सम्मेलनमा राज्यलाई कर छली गरी चुनढुंगा निकासी कार्य अनुचित भएकोले तत्काल कानुनी दायरा भित्र नआए खानीबाट चुनढुंगा निकासी बन्द गर्ने अध्यक्ष कमल श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार स्थानीय सरकार चुनढुंगा खानीसँग साँठगाठ रहेको हुन सक्ने बताए । खानी प्रभावित क्षेत्रका नागरिकहरुको स्वास्थ्य, आयआर्जन तथा मानसिक रुपमा समस्या सिर्जना हुने गरी खानी सञ्चालन हुने र स्थानीय सरकारले नागरिक पक्षमा मौन बस्नु अनुचित भएको श्रेष्ठले बताए ।

यस क्षेत्रमा संचालित खानीहरुले परिमाण भन्दा बढी उत्खनन् गरेको, टिप्परले ओभरलोड बोकेर राजमार्ग र स्थानीयको घरबस्ती जोखिममा राखेको वाइसियल तिनाउँका अध्यक्ष श्रेष्ठले बताए ।

वाइसियलले गाउँपालिकालाई दिनुपर्ने राजश्व नदिएको, स्थानीयको समस्या समाधानमा ध्यान नदिइएको, वातावरणीय प्रभाव मूल्यांकन नभएको, सामुदायिक उत्तरदायित्व पूरा नगरेको आरोप लगाएको छ ।

समस्या समाधानमा गाउँपालिका उदासिन देखिएको भन्दै उसले भोली गाउँपालिका घेराउ गर्ने र खानी बन्द समेतका चरणबद्ध आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको छ ।

जस अन्तर्गत भोली गाउँपालिका घेराउ गर्ने, जनदवाव दिने, चुनढुंगा खानीमा टिप्पर प्रवेश रोक गर्ने, टिप्पर खानी नै बन्द गर्ने लगायतका कार्यक्रमहरु सुरु गरेको छ ।

वाइसिएलले आफ्नो आन्दोलनमा सहयोग गर्न र प्राकृतिक दोहन रोक्नमा सहयोग गर्न राजनीतिक दल, पत्रकार, नागरिक समाजसबैमा आग्रह समेत गरेको छ । पत्रकार सम्मेलनको सञ्चालन सन्तोष रावल गरेका थिए ।

तपाईको प्रतिक्रिया