पाल्पा । लोकप्रिय गायक एवं सर्जक प्रकाश सपूतले ‘पिर’ गीतको केही दृश्य हटाएर युट्युबमा रि–अपलोड गरेका छन् ।

उनले माओवादीकी पूर्व लडाकू महिलाले देशव्यापार गर्न बाध्य भएको दृश्य हटाएर शनिबार साँझ गीत रि–अपलोड गरेका हुन् ।

गीतको पहिलाको भिडियो भने युट्युबबाट हटाएर छन् । जुन भिडियोले नयाँ कीर्तिमानी कायम गर्दै सार्वजनिक भएको ७ दिनमै युट्युबमा एक करोड बढी भ्युज पाएको थियो ।

सम्बन्धित समाचार

उनले ‘पिर’मा प्रतिकात्मक रुपमा राखिएको एउटा दृष्यले चित्रण गरेको सम्बन्धित समूहको आत्मसम्मानमा चोट पुगेको र गीत एवं भिडियोका अन्य सौन्दर्यलाई समेत छायाँमा पारेको भन्दै उक्त दृश्य सम्पादन गरेर नयाँ भिडियो रि–अपलोड गरिएको बताएका छन् ।

उनले कुनै दबाब,प्रभाव ले नभएर यो बिचमा आएका प्रतिक्रिया, अग्रज स्रष्टा सर्जकहरुको सुझाव, लेखक, पत्रकार, समीक्षकहरुको समीक्षा र सम्बन्धित समूहको आत्मसम्मानलाई मनन गर्दै त्यो दृश्य सम्पादन गरिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले गीतलाई थप राजनीतिकरण नगर्न समेत आग्रह गरेका छन् ।

पिर रि-अपलोड गरेपछि प्रकाशले फेसबुकमा लेखेका छन् :

सर्वाधिक लाईक र कमेन्टसहित १७ दिनमा ‘गलबन्दी’, १५ दिनमा ‘कुरा बुझ्न पर्च’ र ७ दिनमा ‘पिर’ करोड़ पटक हेरिएको छ । हाम्रो प्रयासको ईतिहास र तपाईको प्रेमको ईतिहास निरन्तर दोहोरिएको छ । एउटा सर्जक र उसको टिमका लागि र समग्र व्यवसायिक संगीत बजारका लागि यो अपार सफलता हो । तर आगामी दिनमा आउन सक्ने असफलता पनि सामान्य लागोस् भनेर मैले आफ्नो सफलतालाई सामान्य रुपमा लिन थालेको छु । यद्यपी, तपाईको अमूल्य शुभेच्छा मेरो लागि असामान्य छ । मैले आफ्नो क्षेत्रमा जबरजस्त उपस्थिती र स्थान बनाएको छु । रेकर्डहरु बनाएको छु । सपना र संघर्षपछिको यो सफलता भने सामान्य होईन । कहिले काहीँ त लाग्छ – भयो अब ! पुग्यो । आई एम डन !

खैर, ‘पिर’ले सफलता मात्रै होईन धेरै कुरा सिकाएको छ । सचेत गराएको छ । तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शक स्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समूह÷समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नु पर्ने चेत गराएको छ । सिर्जना गर्दा अझै धेरै अध्ययन गर्न प्रेरित गरेको छ । यद्यपी सर्जकले आफ्नो सिर्जनात्मक दायरा खुम्च्याउने कि सिर्जनाप्रति दर्शकले आफ्नो दृष्टिकोण फराकिलो बनाउने ? यो बहस हुन जरुरी छ । भैरहोस । जे होस, ‘पिर’मा प्रतिकात्मक रुपमा राखिएको एउटा दृष्यले, पात्रले चित्रण गरेको सम्बन्धित समूहको आत्मसम्मानमा त चोट पुग्यो नै, गीत र भिडियोका अन्य सौन्दर्यलाई समेत छायाँमा पारिदियो । अन अफिसियल रुपमा त पुरानो भिडियो सेभ होलान । अतिरन्जित गरेर सोसियल मिडियामा सेयर पनि गरियला (नगर्न अनुरोध) तर लाखौँ सब्सक्राईब भएको ‘प्रकाश सपूत अफिसियल युट्युब’मा त्यो भिडियो अर्काईभको रुपमा रहने र जहिले हेर्दा पनि त्यही दृष्य बिझाउने जस्तो भयो । नियोजित रुपमा माओबादी आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने बुझिने र त्यसले उठाएको अन्य यथार्थ विषयहरु विषयान्तर भैरहने जस्तो भयो । त्यसैले कुनै दबाब,प्रभावले नभएर यो बीचमा आएका तपाईको प्रतिक्रिया, अग्रज स्रष्टा सर्जकहरुको सुझाव ! लेखक, पत्रकार, समीक्षकहरुको समीक्षा र सम्बन्धित समूहको आत्मसम्मानलाई मनन गर्दै त्यो दृश्य सम्पादन गरिएको छ र नयाँ भिडियो रि–अपलोड गरिएको छ । साथै सात दिनसम्म ट्रेन्डिङ १ मै रहेको, ५ लाख ५० हजार लाईक र ३८ हजार प्रतिक्रिया आएको, एक करोड प्लस निरन्तर हेरिएको भिडियो हटाउने निर्णय गरेको छु ।

केही दृष्यमाथीको आलोचना, व्यापक चर्चासहित व्यवसायिक सफल भएको गीत र भिडियो त हटाएको छु तर गीत र भिडियोमा गरिएको नेपाली समाजको चित्रण हटाएको छैन ! आम नेपालीको अवस्थाको प्रतिबिम्ब हटाएको छैन र हटाएको छैन सोधिएका गम्भिर प्रश्नहरु…

पिर–रि अपलोड
मन लागेछ भने फेरी हेर्नु होला । र, कसैको आत्मसम्मान र सर्जकको ईमान्दारीतालाई मनन् गर्दै आफ्नो प्रतिक्रिया दिनु होला । थप राजनीतिकरण र अतिरन्जित नगरौ है त । धन्यबाद !

तपाईको प्रतिक्रिया