
पाल्पा । पाल्पाको तानसेन नगरपालिकाको प्रमुख (मेयर)मा पराजित भएपछि नेकपा एमालेका उम्मेदवार धनेन्द्रराज घिमिरेले जित–हारलाई आफूले सामान्य रुपमा लिएको बताएका छन् ।
पराजित भएपनि तानसेनबासीको सुख– दुःख, तानसेनको विकास र समृद्धिको यात्रामा निरन्तर समर्पित भईरहने उनले संकल्प समेत गरेका छन् ।
‘लोकतन्त्रलाई संस्थागत गर्ने महत्वपूर्ण माध्यम आवधिक निर्वाचन हो । यसमा जित–हारलाइए मैले स्वभाविक रुपमा लिएको छु । तानसेनको विकास र समृद्धिको यात्रालाई नयाँ उचाईबाट अगाडी बढाई तानसेनलाई देशकै एक नमूना नगर/ शहर बनाउने संकल्पका साथ हाम्रो उम्मेदवारी रहेको थियो’ घिमिरेले बुधबार विहान फेसबुकमा लेखेका छन्, ‘हामी झिनो मतले पराजित भए पनि तानसेनबासीको सुख, दुःख र तानसेनको विकास र समृद्धिको यात्रामा निरन्तर समर्पित भई रहने संकल्प गर्दछु ।’
घिमिरेले निर्वाचनमा आफूहरुलाई अमूल्य मत प्रदान गर्ने नगरबासीहरुमा आभारसहित धन्यवाद ज्ञापन गरेका छन् । उनले पाटीको झण्डा र आन्दोलनलाई थप उचाइमा पुर्याउन लागि रहने समेत उल्लेख गरेका छन् । घिमिरेले नगरपालिकामा विजयी हुने प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरू सबैलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि ब्यक्त गरेका छन् ।
तानसेनमा नेकपा एमालेलाई हराउँदै गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सन्तोषलाल श्रेष्ठ विजयी भएका हुन् भने उपप्रमुखमा गठबन्धनबाट (नेकपा माओवादी केन्द्र)की प्रतिक्षा सिंजाली विजयी भएकी हुन् ।
सम्बन्धित समाचार : तानसेन नगरपालिकाको मेयरमा कांग्रेसका श्रेष्ठ र उपमेयरमा माओवादी केन्द्रकी सिंजाली विजयी