पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकामा उपाध्यक्षमा पराजित लक्ष्मी खनाललाई तानसेन नगरपालिकाकी निवर्तमान उपप्रमुख लक्ष्मी पाठकले सान्त्वना दिएकी छिन् ।

रिब्दीकोटमा अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेकपा एमालेका उम्मेद्वार पराजित भएका छन् । २०७४ सालको निर्वाचनमा उपाध्यक्षमा निर्वाचित लक्ष्मीले यसपटक पनि उपाध्यक्षमा उम्मेद्वार दिएकी थिइन् । तर, उनी पराजित भइन् ।

लक्ष्मी पाठक र लक्ष्मी खनाल

उपाध्यक्षमा पराजित लक्ष्मीले बुधबार राती आफ्नो फेसबुकको कभर तस्वीर परिवर्तन गरेकी छिन् । हँसिलो अनुहारका साथ पोष्ट तस्वीरमा कमेन्ट गर्दै तानसेन नगरपालिकाकी निवर्तमान उपप्रमुख लक्ष्मी पाठक लेख्छिन्, ‘लक्ष्मी यस्तै भयो मन नदुखाउनु होला । जताततै हेरेर मन बुझाउनु पर्दोरहेछ ।’

अघिल्लो निर्वाचनमा रिब्दीकोटमा अध्यक्ष, उपाध्यक्षमा नेकपा एमाले विजयी भएको थियो भने तानसेनमा पनि प्रमुख, उपप्रमुखमा नेकपा एमाले विजयी भएको थियो । तानसेनकी निवर्तमान उपप्रमुख लक्ष्मीले रिब्दीकोटको उपाध्यक्षमा पराजित लक्ष्मीलाई गरेको प्रतिक्रियाले तानसेनको पनि नतिजा हेरेर चित्त बुझाउन संकेत गरेको छ ।

यता यसअघि कांग्रेसले जितेका स्थानीय तह माथागढी र बगनासकालीमा भने यसपटक एमाले विजयी भएको छ । लक्ष्मी पाठकले लक्ष्मी खनाललाई गरेको प्रतिक्रियाले यी स्थानीय तहको नतिजा हेरेर चित्त बुझाउन सान्त्वना दिएको पनि संकेत गर्छ ।

तपाईको प्रतिक्रिया