पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा यसअघिकै जनप्रतिनिधि दोहोरिएका छन् । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै पदमा एमालेका उम्मेदवार विजयी भएका हुन् ।

गाउँपालिका अध्यक्षमा विष्णुप्रसाद भण्डारी ५ हजार ५ सय ८६ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल एकीकृत समाजवादीका उम्मेदवार दुर्गाप्रसाद अधिकारीले ४ हजार ५ सय ४२ मत ल्याएका छन् । यस्तै, उपाध्यक्षमा एमालेकी उम्मेदवार राधाकुमारी श्रेष्ठ ५ हजार ७ सय १९ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार थापाले ५ हजार ५८ मत पाए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि यस गाउँपालिकाको अध्यक्षमा भण्डारी र उपाध्यक्षमा श्रेष्ठ नै विजयी भएका थिए ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार पाँच वटा वडा रहेको गाउँपालिकाको वडा नं. १ र ३ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भए भने वडा नं. २, ४ र ५ मा एमालेका उम्मेद्वार विजयी भएका छन् ।

१० वटा स्थानीय तह रहेको पाल्पामा अन्य ९ वटाको अन्तिम मतपरिणाम यसअघि नै सार्वजनिक भैसकेको थियो । रम्भामा भने मतगणनाको क्रममा विवाद हुँदा केही दिन गणना स्थगित भएको थियो ।

तपाईको प्रतिक्रिया