
तानसेन । सोमबार दिउँसो सुख्खा पहिरो खसेपछि अवरुद्ध भएको सिद्धार्थ राजमार्गको तानसेन-बुटवल सडक खण्ड अहिलेसम्म सुचारु हुन सकेको छैन । सडक डिभिजन कार्यालयले सडक खुलाउन समयमा पहल नगरेका कारण अवरुद्ध राजमार्ग खुल्न नसकेको हो ।
सिद्धार्थ राजमार्ग अन्तरगत तिनाउ गाउँपालिका वढा नं–५ कालीमाटीमा दिउँसो साढे १ बजे खसेको पहिरो बेलुका १० बज्दासम्म नपान्छाउदा यात्रुहरु अलपत्र परेका छन् ।
ढुङ्गा र बाँसको झाडीसहित खसेको सुख्खा पहिरो हटाउन दुई घण्टा लाग्ने जानकारी प्रहरीले दिएपनि अहिलेसम्म सडक पूर्ण रुपमा अवरुद्ध रहेको गुनासो यात्रुको छ ।
सडक पूर्ण रुपमा बन्द हुँदा बुटवलतर्फ जाने तथा बुटवलदेखि विभिन्न जिल्लाको यात्रामा निस्केका यात्रुहरु अलपत्र परेका छन् । केही यात्रुहरु वैकल्पिक सडकबाट पास गरेर गन्तव्यतर्फ लागे पनि सार्वजनिक सवारी र साना सवारीका यात्रुहरु समस्यामा परेका छन् । वैकल्पिक मार्गमा समेत सबै सवारी पास नहुँदा अलपत्र परेका यात्रुहरु सवारीमै रात बिताउन बाध्य भएका छन् ।
केही यात्रु भने गन्तव्यमा नपुगी फर्किएका छन् । उता सडक डिभिजन कार्यालय पाल्पाले भने अहिलेसम्म सडक खुलाउने प्रयास जारी रहेको जनाएको छ।
डिभिजन कार्यालयका सूचना अधिकारी रबी शाहका अनुसार सडक डिभिजन पाल्पा र रुपन्देहीको तर्फबाट जेसीबी परिचालन गरी पहिरो पन्छाउने प्रयास जारी छ ।
पहिरो पन्छाउने क्रममा पानी परेका कारण केही समय काममा अवरोध आएको र अहिले पुनः सडक सुचारु गर्ने तयारी भएको उनले बताए ।
रातिको समय भएका कारण आजका लागि एकतर्फी भएपनि सडक खुलाउने प्रयास जारी रहेको उनले बताए । सोही स्थानमा केही दिनअघि पनि सुख्खा पहिरोले सडक बन्द भएको थियो ।