
पाल्पा । तानसेनमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध सरकारी सवारीसाधन नियन्त्रणमा लिने क्रममा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु पाल्पाका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सरकारले पेट्रोलियम पदार्थ लगायतमा गरेको चरम मूल्यबृद्धिविरुद्ध राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले बिहीबार उपत्यकासहित प्रत्येक जिल्ला सदरमुकाममा सरकारी सवारी साधन अवरोध कार्यक्रम तय गरेको थियो ।
सोही कार्यक्रम अन्तर्गत पाल्पा सदरमुकाम तानसेनमा सरकारी सवारीसाधन नियन्त्रणमा लिने क्रममा प्रहरीले युवा संघका केन्द्रीय सदस्यसहितका कार्यकर्ता एवं अनेरास्वयूका जिल्ला अध्यक्षलाई नियन्त्रणमा लिएको हो ।
युवा संघ नेपालका केन्द्रीय सदस्य एवं जिल्ला ईञ्चार्ज दीपक विश्वकर्मा, जिल्ला कोषाध्यक्ष सुधिर भट्टराई, नगर अध्यक्ष राजेश भट्टराई, जिल्ला सदस्य कृष्ण बस्याल, नगर सदस्य शिशिर बस्याल, अनेरास्ववियु जिल्ला अध्यक्ष हिराकुल कुवँर क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
युवा संघ र अनेरास्ववियूले नियन्त्रणमा लिईएकाहरुलाई तुरुन्त रिहाईको माग गर्दै मूल्यबृद्धि तुरुन्त फिर्ता सरकारसँग माग गरेको छ ।
तस्वीरहरु राजेश भट्टराईको फेसबुकबाट