नियन्त्रणमा परेका युवा संघ र अनेरास्ववियुका नेता कार्यकर्तालाई प्रहरीले रिहाई गर्‍यो

पाल्पा । तानसेनबाट नियन्त्रणमा नेकपा एमाले निकट भ्रातृ संघसंगठनका नेता एवं कार्यकर्तालाई प्रहरीले रिहाई गरेको छ । बिहीबार बिहान पेट्रोलियम पदार्थलगायत खाद्यान्नको चर्को मूल्यवृद्धिको विरोधमा उत्रिएका राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु पाल्पाका ६ जना नेता एवं कार्यकर्तालाई तानसेनको आन्दोलन चोकदेखी प्रहरीले नियन्त्रणमा लिएको थियो । मूल्यवृद्धिको विरोधमा सरकारी सवारी साधन रोक अभियानको क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

युवा संघ नेपालका केन्द्रीय सदस्य एवं जिल्ला ईञ्चार्ज दीपक विश्वकर्मा, जिल्ला कोषाध्यक्ष सुधिर भट्टराई, नगर अध्यक्ष राजेश भट्टराई, जिल्ला सदस्य कृष्ण बस्याल, नगर सदस्य शिशिर बस्याल, अनेरास्ववियू जिल्ला अध्यक्ष हिराकुल कुवँर क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएर केही घण्टापछि छाडेको हो ।

नेकपा एमाले तानसेन नगर कमिटीका अध्यक्ष गुराँस आत्रेयले नयाँधारसँग कुरा गर्दै घटनाको विषयमा खेद प्रकट गरे । उनले जनताको दैनिकीसँग जोडिएको विषयमा गरिएको आन्दोलनमा प्रहरी प्रशासनबाट ज्याददी भएको बताए । सरकारले मूल्यवृद्धि फिर्ता नगरसम्म आन्दोलका कार्यक्रमलाई जारी राख्ने युवा संघ र अनेरास्ववियुका नेता कार्यकर्ताहरु बताउँछन् ।

युवा संघ तानसेन नगर कमिटीले पनि प्रेश बिज्ञप्ति जारी गर्दै प्रहरी प्रशासनले गरेको धरपकड र गिरफ्तारी प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जनताको दैनिक जिविकोपार्जनमा खलबल पुर्याउने गरि भएको निरन्तर मूल्यवृद्धिको विरुद्द आन्दोलनमा सहभागी हुन समेत युवा संघ नगर कमिटीले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer