कालीगण्डकी ‘ए’ को बिजुली भारत निर्यात हुने

तानसेन। कालीगण्डकी ए जलविद्युत गृहबाट उत्पादित विद्युत आजदेखि भारतमा निर्यात सुरु हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत शनिबार राति १२ बजेदेखि निर्यात सुरु गर्न लागेको हो ।

प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मा बिहीबारदेखि त्रिशुली र देवीघाट जलविद्युगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक करिब ३९ मेगावाट विद्युत निर्यात गरिरहेको थियो । सोही अनुसार अब कालीगण्डकी विद्युत पनि निर्यात गरेपछि दैनिक १७७.७ मेगावाट द्यिुत भारतमा निर्यात हुने प्राधिकरणले जनाएको छ ।

निर्यात हुनेमा सबैभन्दा धेरै कालीगण्डकी ए को १४० मेगावाट, त्रिशूलीको २३.२ मेगावाट र देवीघाटको १४.५ मेगावाट रहेको पनि प्राधिकरणले जनाएको छ।

वर्षायाम सुरु हुन लाग्दा नदीनालामा पानीको वहाव बढेसंगै विद्युतगृहहरु पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रुपमा खपत गरी बढी भएको विजुली भारत निर्यात गर्न थालिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

शनिबार रातिदेखि निर्यात हुने विजुलीको औसत बिक्री मूल्य प्रतियुनिट ११.२ रुपैयाँ (७ भारु) रहेको छ । अधिकतम दर प्रतियुनिट १९ रुपैयाँ (१२ भारु), न्यूनतम २.३८ रुपैयाँ (१.४९ भारु) र औसत दर ११.२ रुपैयाँ (७ भारु) रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरक फरक हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer