तानसेन। पाल्पामा राजस्व छली गरी अवैध रुपमा भाडाँकुडा बेच्दै गरेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला सदरमुकाम तानसेनको बसपार्कमा प्रहरी चेकिङ गर्ने क्रममा बुटवलबाट तानसेन आउँदै गरेको बागमती प्रदेश ०१ ०२५ च ८३६६ नम्बरको पिकअप गाडीमा राजस्व छली गरी ल्याएका करिव दुई लाखको भाडाँकुडासहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बिना बिलका सामानहरु ल्याउँदै गरेको अवस्थामा गाडीका चालक रौतहटको डमरिया नगरपालिका ९ का २७ वर्षीय भोजेन्द्र चौधरी र सोही गाडीमा सवार रौतहटको दुर्गाभगवती गाउँपालिका ५ का १९ वर्षीय रुपेश शाहलाई नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताए ।
सूचना अधिकारी थापाका अनुसार बिना बिलका साना ठूला गरी सादा कराई ८० वटा, फेन्सी साना ठुला कराई ७७ वटा, कसौडी १ सय ५२ वटा र पटकुकर साना १ सय २९ वटा बरामद गरिएको हो । बरामद गरिएको सामग्रीको अन्दाजी मूल्य १ लाख ९७ हजार १ सय रकम बराबरको रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।