तानसेन। पाल्पामा ६ हजार ६ सय ७० नयाँ मतदाता थपिएका छन् । असार एक गतेदेखि साउन १९ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलनका क्रममा सो संख्यामा मतदाता थपिएका हुन् ।
जसमध्ये तीन हजार १ सय ४० महिला र तीन हजार ५ सय ३० पुरुष रहेका छन् । जिल्ला निर्वाचन कार्यालयसंगै जिल्ला प्रशासन, इलाका प्रशासन कार्यालय रामपुरबाट फोटोसहितको मतदाता नामावली संकलनको काम भएको थियो ।
जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी रुक्मांगत अर्यालका अनुसार गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लाभरमा एक लाख ९९ हजार ६ सय ९० मतदाता रहेका थिए । अहिले थपिएका मतदातासंगै अब भने दुई लाख ६ हजार ३ सय ६० मतदाताले मतदान गर्न पाउने छन् ।
सरकारले आगामी मंसिर ४ गते एकै चरणमा निर्वाचन घोषणा गरेसँगै मतदाता नामावली संकलन कार्य २० गतेदेखि स्थगन गरिएको थियो ।