पाल्पामा दोब्बर बढी युरिया माग

तानसेन। पाल्पाका किसानले रासायनिक मलको प्रयोग बढाएका छन् । हरेक खेतीमा रासायनिक मलको प्रयोग बढेसंगै गत वर्षको तुलनामा यो वर्ष दोब्बर बढी युरिया मलको माग किसानले गरेका हुन् ।

आठ महिनापछि जिल्लाका दशै स्थानीय तहका लागि आएको दुई सय ५० मेट्रिक टन युरिया मल मागको ५० प्रतिशत मात्र रहेको किसानले बताएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लाका लागि प्राप्त मल गत वर्ष यही समयमा पर्याप्त भएको जनाए पनि किसानले भने माग अनुसारको मल नआएको जनाएको हो ।

जिल्लाभर ६१ सहकारी संस्थमार्फत वितरण गरिएको मल सबै खेतीमा राख्न नपुग्ने भएकोले आफूहरु समस्यामा परेको किसानले बताएका छन् । पछिल्लो समय ग्रामीण भेगमा समेत गाईभैंसी नपाल्ने हुँदा सबै खेतीमा रासायनिक मलको प्रयोग बढेसंगै युरियाको माग बढेको किसानहरुले बताएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेड पाल्पाका प्रमुख सुमन पन्थीका अनुसार पछिल्ला वर्षहरुमा किसानले गोबर मल र प्रागारिक मल उत्पादन गर्नेतर्फ ध्यान नदिएको र गाईभैसी नपालेका कारण रासायनिक मलको माग र प्रयोग बढेको हो ।

उता किसानले भने मकै खेतीमा मल हाल्न नपाएकाे र वर्षे धान गोडेर मल राख्न कुरेर बसेका बेला आएको मल पर्याप्त नहुँदा उत्पादनमा ह्रास आउने जनाएका छन् ।

तपाईको प्रतिक्रिया