तानसेन। पाल्पामा एक सातामा थप २३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार भाद्र १३ गतेदेखि १९ गतेसम्म थप २३ जनामा डेंगु रोगको संक्रमण देखिएको हो ।
पछिल्लो पटक गरिएको परीक्षणमा तानसेनस्थित यनाइटेड मिसन अस्पतालमा १० जना तथा प्रभासको लुम्बिनी मेडिकल कलेजमा उपचाररत १३ जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिए । योसंगै पाल्पामा चालू आर्थिक वर्षमा मात्रै ४७ जनामा डेंगुको संक्रमण देखिएको छ ।
पाल्पामा आर्थिक वर्ष ७७।७८ मा शुन्य अवस्थामा रहेको डेंगुको संक्रमण गत आर्थिक वर्षमा जिल्लाभरमा जम्मा २७ जनामा देखिएको र चालू आर्थिक वर्षको दुई महिना नपुग्दै संक्रमण बढेर ४७ जना पुगेको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख ड.राजेन्द्र गिरीले बताए ।
विगतमा न्यून मात्रामा संक्रमण देखिए पनि पछिल्लो समय जलवायु परिवर्तनका कारण पहाडमा समेत यसको प्रकोप बढेको हुँदा पानी जम्मा हुने स्थानलाई सफाई गरी सुरक्षित हुन स्वास्थ्य कार्यालय पाल्पाले जिल्लावासीमा अनुरोध समेत गरेको छ।