एक लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुल्यो

पाल्पा। आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि म्यादी प्रहरी भर्ना खुलेको छ । नेपाल प्रहरीले आइतबार एक सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य र प्रदशेसभा सदस्य निर्वाचनको सुरक्षार्थ स्वीकृत म्यादी प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड, २०७९ अनुसार भर्ना खुलाएको हो ।

प्रहरीले योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त दिन आह्वान गरेको छ । सरकारले आगामी निर्वाचनमा एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न प्रहरीलाई स्वीकृति प्रदान गरिसकेको छ । सोही बमोजिम नेपाली नागरिकले म्यादी प्रहरीका लागि मङ्सिर ३० गतेदेखि असोज ६ गतेसम्म जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त दिन सक्ने व्यवस्था प्रहरी प्रधान कार्यालयले गरेको छ ।

दरखास्त दिनका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिक हुनुपर्नेछ । साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन नदेखिने फौजदारी अभियोगमा सजाय नपाएका, राजनीतिक दलको सदस्य नभएका, शारीरिक र मानसिक रूपले स्वस्थ, आतङ्ककारी सङ्गठनका सदस्य नरहेका, आँखा माइनस २ र प्लस २ भन्दी बढी कमजोर नभएका, गर्भवती नभएका तथा पुरुषको हकमा उचाइ घटीमा ५ फिट २ इञ्च र छाति ३१–३३ इञ्च, तौल ५० केजी र महिलाको हकमा उचाइ कम्तीमा ५ फिट र तौल ४२ केजी भएको हुनुपर्ने सूचनामा जनाइएको छ ।

यस्तै आगामी असोज ९ गतेदेखि छनोट प्रारम्भ हुनेछ । यसअघि म्यादी प्रहरीमा छनोट भई सन्तोषजनक काम गरेका, पूर्वसुरक्षाकर्मी तथा पूर्व वनरक्षक, सुरक्षाकर्मीमा भर्नाका लागि शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका, मित्रराष्ट्रका सुरक्षा निकायमा काम गरेर सेवा निवृत्त भएकालाई प्राथमिकतामा दिइने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया