पाल्पामा थप ११ जनामा डेंगु पुष्टि, जम्मा संक्रमित ७८ पुगे

तानसेन। पाल्पामा थप ११ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार पछिल्लो एक सातामा थप ११ जनाका डेंगु संक्रमण पुष्टि भएको हो ।

योसंगै जिल्लामा कुल ७८ जना डेंगुका संक्रमित पुगेका छन् । यो वर्ष सुरु भएदेखि ७८ जनामा संक्रमण देखिए पनि सबैभन्दा धेरै साउन र भाद्र महिनामा संक्रमित थपिएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसिएन मधुसुधन भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार साउन र भाद्र महिनामा मात्रै ५८ जनामा संक्रमण देखिएको छ। जलवायु परिवर्तनका कारण तराईबाट पहाडतर्फ डेंगुको संक्रमण बढेको स्वास्यथ्कर्मीहरुको भनाई छ ।

पाल्पामा आर्थिक वर्ष ७७।७८ मा शुन्य अवस्थामा रहेको डेंगुको संक्रमण गत आर्थिक वर्षमा जिल्लाभरमा जम्मा २७ जनामा मात्र देखिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा।राजेन्द्र गिरीले बताए ।

यसैबीच लामखुट्टेबाट यसको संक्रमण हुने हुँदा सरसफाई र पानी जम्ने भाडालाई सफा गर्न स्थानीयलाई स्वास्थ्य कार्यालयले अनुरोध समेत गरेको छ।

तपाईको प्रतिक्रिया