
पाल्पा। नेकपा एमाले पाल्पा निर्वाचन क्षेत्र नं. २ को प्रचार-प्रसार कार्यालयको शनिबार एक कार्यक्रमकाबीच तानसेनमा उद्घाटन भएको छ । नेकपा एमालेका केन्द्रीय पोलिटब्यूरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज ठाकुर गैरेले रिबन काटेर कार्यालयको उद्घाटन गरेका हुन्।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि यो कार्यालय कोशेढुंगा सावित हुने गैरेले बताए। गैरेको नाम पाल्पा क्षेत्र नम्बर २ बाट सर्वसम्मत रुपमा उम्मेदवारका रूपमा समेत सिफारिस भएको छ ।
पाल्पाको विकासका लागि एमालेले जीत आवश्यक रहेकाे बताउदै नेता गैरेले पहाडी जिल्ला मध्ये आफ्नै इतिहास बोकेको पाल्पामा शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रलाई प्राथमिकता दिएर विकास गर्ने बताए ।
आगामी निर्वाचनपछि पाल्पाको नयाँ गौरवमय इतिहास कायम हुने गरी काम गर्ने गैरेले प्रतिवद्धता जनाए । साेही बखत पाल्पा क्षेत्र नम्बर २ प्रदेश ‘क’ बाट एमालेका तर्फबाट सर्वसम्मत सिफारिस भएका उम्मेदवार पर्शुराम भट्टराइले पाल्पा एमालेको लालकिल्ला भएको बताए ।
एमालेका तर्फबाट चुनावी मैदानमा होमिने उम्मेदवारलाई आफ्नो अमुल्य मत दिएर विजयी गराउन एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले अपिल गरे ।
गठबन्धनका दल र उम्मेदवार नितान्त दलगत र व्यक्तिगत स्वार्थमा हुने बताउदै एमाले नेताहरूले नेपाल र नेपालीको हितमा काम गर्ने कुनै एजेण्डा नहुँदा सुखी नेपाली, समृद्ध नेपाल बनाउनका लागि एमालेको जीत अपरिहार्य रहेको बताएका थिए ।